समाचार

रहेनन् पूर्वमन्त्री सूर्यमान गुरुङ, आज अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ । ८४ वर्षीय गुरुङको काठमाडौंको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

उनी १८ महिनादेखि बाथ र सुगरले थलिएको कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङले जानकारी दिए । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । दुई छोरा विदेशमा रहेकाले पूर्वमन्त्री गुरुङको शव केही दिन अस्पतालमै राखिने भएको छ । उनका श्रीमती र दुई छोरीसमेत छन् ।

उनको पुख्र्यौली घर ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका–६ छ । उनी २०७३ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र स्थानीय विकासमन्त्री भएका थिए । उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुन् । २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिको क्रममा गुरुङले ताप्लेजुङ र पाँचथरमा क्रान्तिको नेतृत्व गरेका थिए ।

क्रान्तिकै क्रममा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा गरेका थिए । कारागारका कैदीबन्दीहरूलाई भगाएका थिए । त्यसपछि उनी लामो समय भारत निर्वासित भएको र २०३६ सालमा आममाफी पाएपछि नेपाल फर्किएका थिए । त्यहीबेला उनी केही समय पञ्चायतमा लागे ।

२०४६ सालसम्म जिल्ला पञ्चायतको सभापति भए । तर, २०४६ सालको आन्दोलन सफल भएपछि भने कांग्रेसमै फर्किएका थिए । उनले पहिलोपटक २०५१ सालमा ताप्लेजुङका निर्वाचन क्षेत्र २ बाट चुनाव लडे । एमालेका अम्बिकाप्रसाद साँवासँग पराजित भए । २०५६ सालमा क्षेत्र नम्बर १ बाट उम्मेवदार बने । त्यसबेला एमालेका तिलकुमार मेन्याङबोसँग पराजित भए ।

आज बिहान ११ः३० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।