ब्यानर

गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बने बेदबहादुर गुरुङ

पोखरा । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा एमालेबाट बेदबहादुर गुरुङ नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै गुरुङलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनीसँगै एमालेकै सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

२०७९ पुसमा अधिकारी मुख्यमन्त्री भएकै बेला सुन्दास अर्थमन्त्री र गुरुङ कृषि तथा ऊर्जा मन्त्री थिए । अहिले दुवै दोहोरिएका छन्, तर मन्त्रालय फेरिएको छ ।

मन्त्रीद्वय सुन्दास र गुरुङले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री अधिकारीले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन चैत २५ गते माओवादीका हरिबहादुर चुमान र मनाङबाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । वैशाख ८ गते मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।