कभर स्टोरी

दुई तमु संस्था एकताको लागि काठमाडौमा वार्ता

किशोर गुरुङ, काठमाडौं । तमू समुदायको दुई सामाजिक संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् र तमु धिं नेपालबीच एकताको लागि काठमाडौंमा वार्ता भएको छ । शनिवार काठमाडौंस्थित तमू ह्युल छोंज धींको केन्द्रीय कार्यलयमा भएको छलफलमा एकीकृत संस्थाको नाम सिफारिसका लागि दुवै संस्थाका दुईरदुई जना सदस्य रहने गरी कार्यदल गठन गर्दै वार्ता सम्पन्न गरेको हो ।

तमू समुदायको दुई संस्था बिच एकीकृत संस्थाको नाम सिफारिस कार्यदलमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्‌का तर्फबाट अधिवक्ता राजु गुरुङ र श्रीप्रसाद गुरुङ, तमु धिं नेपालका तर्फबाट सुरेन्द्र गुरुङ र ज्ञान सिंह गुरुङ रहेका छन् । कार्यदललाई आवश्यक गृहकार्य गरी आगामी २०८१ वैशाख १७ गतेभित्र नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्‌का वार्ता समितिका संयोजक डम्बरबहादुर गुरुङको अध्यक्षतामा भएको वार्तामा विगतमा पोखरा र काठमाडौंमा सम्पन्न बैठकहरुको पुनरावलोकन, एकीकृत संस्थाको लोगो र झन्डा बनाउने जिम्मा पाएका सदस्यहरुले अर्को बैठकमा प्रतिवेदन पेस गर्नेलगायतका निर्णय भएको तमू धिं नेपालका वार्ता संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले बताइन । संस्था एकताको विषयमा भएको छलफलपछि दुवै संस्थाको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरेको छ ।

त्यस्तै बैठकमा संस्था एकताको बारेमा हालसम्मको उपलब्धिहरु र आगामी योजनाका विषयमा छलफल भएको थियो । संस्था एकता बारे संयुक्त वार्तामा सदस्यहरुले आ–आफ्ना धारणाहरु राखेका थिए । दुई समिति बिचको एकता वार्ता आगामी २०८१ ज्येष्ठ १२ गते शनिबार पोखरामा बैठक बस्ने निर्णय गरिएको छ ।