कभर स्टोरी

चितवनको गुरुङ समुदायले ट्हो त्हें पर्व मनाए

चितवन । गुरुङ समुदायको एक पर्व ट्हो त्हें चितवनको गुरुङ समुदायले मनाएको छ । तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको आयोजना र खेमा तमू समाज नौरङ्गेको व्यवस्थापनमा आज चितवनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि ट्हो त्हें पर्व मनाएको हो ।

गुरुङ समुदायले हरेक वर्षको साउन र चैत महिनाको पहिलो वा अन्तिम मंगलबार ट्हो त्हें पर्व मनाउने गरेको छ । सोही अनुरुप तमू प्ये ल्हु संघ चितवनले पनि हरेक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरि ट्हो त्हें पर्व मनाउँदै आएको छ । यो पर्वमा गुरुङ समुदायले विशेष गरेर गाउँ, समाज र परिवारको रक्षार्थ खेगीगुरुहरुबाट पूजा आजा गरि मनाउने गरिएको छ । यसरी पूजाआजा गर्दा गाउँ, समाज र परिवार रखबार हुने गुरुङ समुदायमा परापूर्वक कालदेखि विश्वास रहि आएको पाईन्छ ।

चितवनमा भएको अन्तरक्रिया कार्यक्रम तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष एवं बागमति प्रदेश प्रमुख तुलाराम टु क्ल्हेप्री तमूको प्रमुख अतिथ्यतामा तथा तमू प्ये ल्हु संघ चितवनको अध्यक्ष बिक्रम च्हम्रु तमूको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष जगत टु क्ल्हेप्री तमूले ट्हो त्हेँ पर्व तथा तमूहरूको अन्य पर्वहरुको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष एवं बागमति प्रदेश प्रमुख तुलाराम टु क्ल्हेप्री तमूले संस्थाले तमू समुदायको सबै चाडपर्वलाई प्राथमिकताका साथ मनाउने व्यवस्था गर्नुपर्ने बताए । जुन कारण नयाँ पूस्ताले भुल्दै गएको गुरुङ संस्कृतिको संरक्षण हुने बताए ।