गुरुङ विशेष

स्याङ्गजाको आक्राङ देउरालीमा निर्माण भएको पैकिलम् खेमा धीं उद्घाटन

स्याङ्गजा । स्याङ्गजाको फेदीखोला गाउँपालिका वडा नं १ आक्राङ गाउँ र वडा नं २ देउराली गाउँमा निर्माण भएको पैकिलम् परिवारको खेमा धींको उद्घाटन गरिएको छ । खेमा धींको निर्माण सम्पन्न भइ बिहिबार लामा विधिद्वारा पुजापाठ गरि उद्घाटन गरिएको हो ।

बाख्रे, देउराली र आक्राङ ३ गाउँमा एउटै जिजुबाजे पकिलामाका सन्तानहरु रहेको मानिदै आइरहेको छ । सुखदुःखमा यी ३ गाउँका सन्तानहरु सुख साट्ने र दुख बार्ने गर्दै आइ रहेको छ ।

हाल गाउँ रितिदै गएको अवस्थामा कसरी भावी सन्ततिहरुलाई गाउँमा ल्याउन सकिन्छ भन्ने सोचका साथ खेमा धीं पित्री धीं गाउँमा बनाईएको सल्लाहकार सोम गुरुङले जानकारी दिए । खेँमा धींको निर्माण सँगै हरेक वर्ष पुजा गरि पित्रीहरुलाई सम्झने काम गरिने उनले बताए । यसो गर्दा भोलि हाम्रो सन्तानहरु जो जहाँ रहे पनि नेपाल आउछन् गाउँ आउछन् भन्ने विश्वास लिएको बताए ।

खेमा धीं निर्माण सम्पन्न गर्न चेलिबेटी, भाइखलक सबैले आर्थिक, नैतिक, भौतिक सहयोग गरेको र यी दुईवटा खेमा धीं निर्माण का लागि करिब १६ लाख खर्च भएको जानकारी दिदै छिट्टै बाख्रे गाउँका भाइखलकहरुसँग सल्लाह गरेर उक्त स्थानमा समेत खेमा धीं बनाउने योजना रहेको सचिव शिवचन्द्र गुरुङले बताए ।

समुद्घाटन कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने सम्पुर्णलाई खदा, क्रमु, भाङग्रा, सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

बाख्रे, देउराली, आक्राङ गाउँका भाइखलकका सन्तानहरु हाल भारत, हङकङ, सिङापुर, युके आदि देशहरुमा फैलिएको छ ।

कार्यक्रम अध्यक्ष श्रीमती हरि कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।