कभर स्टोरी

राष्ट्रिय म्रु तमू समाजको नवौं साधारण सभा सम्पन्न

गोरखा । गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक म्रु गुरुङको साझा संस्था राष्ट्रिय म्रु तमू समाज नेपालको नवौं सधारण सभा सम्पन्न भएको छ । शनिबार समाजको केन्द्रीय कार्यलय भएको स्थल गोरखा नगरपालिकाको अबुवामा एक कार्यक्रमको आयोजना गरि समाजले साधारण सभा सम्पन्न गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष नारायण म्रु तमूको सभापत्विमा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर प्रमुख अतिथि रहनुभएको थियो भने गोरखा नगरपालिकाकै उपमेयर मसलीमाया थोकर, गोरखा १३ का वडाध्यक्ष मित्रा परियार, बागमती प्रदेशका निवर्तमान सांसद रिना गुरुङ, समाजका संस्थापक एवं सल्लाहकार संयोजक मन बहादुर म्रु तमू विशिष्ट अतिथि रहनुभएको थियो ।

संस्थाका महासचिव किरण म्रु तमूले संचालन गरेको सभामा समाजका अध्यक्ष नारायण म्रु तमूले समाजले हालसम्म प्राप्त गरेका उपलब्धीहरु बारे प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस्तै प्रगती प्रतिवेदन प्रस्तुत गर्ने क्रममा गोरखा सहित देशका ७ जिल्लामा बसोबास गर्ने करिब २६० घरधुरी म्रु तमू भाईखलकहरु संस्थामा आवद्ध भएको र सबैको सहयोगले समाजको नाममा गोरखा नगरपालिका १३ अबुवामा जग्गा खरिद गरिएको जानकारी दिदै छिट्टै समाजले आफ्नै भवन समेत निर्माण गर्ने अध्यक्ष नारायण म्रु तमूले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक गायीकाहरु चिज तमू, सुनिमा तमू र बिमला तमूले सांगेतिक प्रस्तुती समेत राखेका थिए ।