ब्यानर

लेम तमू (लाम्छाने गुरुङ) समाजले मनाए तेस्रो स्थापना दिवस

काठमाडौं । लेम तमू (लाम्छाने गुरुङ) समाजले तेस्रो स्थापना दिवस मनाएको छ । काठमाडौंमा भौतिक र भर्चुअल माध्यममार्फत विश्वभरमा रहेका लेम तमूहरुबीचमा स्थापना दिवस मनाएका हुन् ।

काठमाडौंको तमू बौद्ध सेवा समिति नेपालको हलमा आयोजित स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्थापना दिवसको प्रमुख अतिथि तमू स्वायत्तताको पहिलो प्रस्तावक पूर्वमन्त्री खगेन्द्रजंग गुरुङ थिए भने लेम तमू विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

समाजका अध्यक्ष क्या. ओम गुरुङले संस्थाको स्थापना, आवश्यकता र औचित्यताका बारेमा प्रकाश पारेका थिए भने उपाध्यक्ष शमसेर गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा विशिष्ट योगदान दिने तथा लेम समूदायबाट विविन्न उपलव्धी हासिल गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरुमा पूर्वमन्त्री खगेन्द्रजंग गुरुङ, ध्रुवबहादुर गुरुङ, भिम गुरुङ, मिना गुरुङ, डा. निरबहादुर गुरुङ, भूपेन्द्र गुरुङ र एरिका गुरुङ छन् ।

कार्यक्रममा लेम तमूबारे लेम तमू समाज युकेका अध्यक्ष क्या. बालकृष्ण गुरुङले प्रस्तुति दिएका थिए भने सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान युकेका संयोजक लेख गुरुङले सिन्धुली गढीमा अंग्रेज फौजलाई परास्त गर्ने वंशु गुरुङ लेम तमू भएर पनि सबैले सामूहिक आवाज उठाउन सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तमू सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरुङ, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष पिताम्बर गुरुङ, तमू विद्यार्थी छोंज धिँका अध्यक्ष विश्वराज गुरुङ लगायतले शुभकामना दिएका थिए ।

महासचिव कुलबहादुर गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।