कभर स्टोरी

तमु एकताको लागि तमु धिंको पत्र तमु ह्युल छोंज धिंलाई

पोखरा । तमु समुदायका दुई सामाजिक संस्थाबीच एकताका लागि तमु धिं नेपालले तमु ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदलाई पत्र बुझाएको छ । तमू धिं नेपालका अध्यक्ष हुमबहादुर तमूले बुधबार तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङलाई पत्र हस्तान्तरण गर्नुभएको हो ।

तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिको माघ १६ गते सम्पन्न बैठकले महासचिव अधिवक्ता जुनाकुमारी गुरुङको संयोजकत्वमा गठित ७ सदस्यीय वार्ता समिती गठनको जानाकारीसहित तमु धिंका अध्यक्ष हुमबहदुर तमूले तमू ह्युल छोंज धिंका अध्यक्ष कर्णबहादुर गुरुङलाई पत्र हस्तान्तरण गरेको हो ।

त्यस अवसरमा तमू समुदायका दुई मुख्य संस्थाहरुबीचको एकता आवाश्यकता मात्रै नभई अनिवार्य भएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले बताउनु भयो । दुई संस्थाबीचको एकताले बृहत्तर तमु एकताको प्रारम्भ हुने उहाँको भनाई छ । त्यसैगरी परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले एकताका लागि तीन महिना अगावै पत्राचार गरिसकिएको स्मरण गराउँदै फेरि पनि एकताका लागि द्रुत गतीका साथ वातावरण तयार पार्न दुवै पक्ष जिम्मेवार रहनुपर्नेमा जोड दिनु भयो । यसअधि तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको महाधिवेशन पश्चात् निर्वाचित कार्यसमितिले महासचिव डम्बर तमुको संयोजकत्वमा ७ सदस्यीय एकता वार्ता समिती गठन गरि तमु धिंलाई एकताको लागि पत्रचार गरेको थियो ।

तमु धिं नेपालले तमु ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदलाई पत्रमा तमू धिं नेपालका तर्फबाट वार्ताको संयोजक महासचिव जुना तमु, सचिव जुमकाजी तमु, सहसचिव गोपाल तम, कोषाध्यक्ष गमबहादुर तमु, सदस्यहरु कृष्णकुमार तमु, सुरेन्द्र तमु र बिना तमु रहनु भएको उल्लेख छ ।