समाचार

तनहुँ भिमादको ऋषिङ पाटनका गुरुङ महिलाहरुलाई जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम

दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा तनहुँको भिमाद नगरपालिका-५ स्थित ऋषिङ पाटनमा दुई दिने जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ऋषिङ पाटनका गुरुङ समुदायका महिलाहरुलाई प्रशिक्षक इन्दिरा श्रेष्ठले जलवायु परिवर्तनका असर र यसको समाधानको उपाय लगाएत विभिन्न विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता सत्यदेवी गुरुङ समाजका अध्यक्ष ओमराज गुरुङले गरेका थिए । समापन कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी जनसम्पर्क सचिव रिना बरामले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न तालिममा सहभागी महिलालाई सुझाव दिईन । उनले थपिन ‘सिकेका कुरा अरुलाई पनि बाड्नुपर्छ । ‘

तालिममा गुरुङ समुदायका २३ जना महिलाको सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागी महिलाहरु मध्य  ११ जनाको समुह गठन गरी सिड मनि ३५ हजार रुपैयाँ समेत आयोजकले हस्तान्तरण गरेको छ । सो रकमबाट उक्त समुहका महिलाले लगानी गरी विभिन्न उत्पादन मुलक काममा उपयोग गर्नेछन ।

उक्त दुई दिने तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि भिमाद नगरपालिका-५ का वडाअध्यक्ष पदम बहादुर थापाले जलवायु परिवर्तनका विषयमा सबै जना सचेत हुनुपर्ने बताए । उनले थपे ‘तालिममा सिकेका कुरा आफ्नो दैनिक जीवनमा उतार्नुपर्छ ।’

समापन कार्यक्रममा भिमाद नगरपालिकाकी कार्यपालिका सदस्य संगीता विक, भिमाद-५ का वडासदस्य मिना परियार र समाजसेवि तथा पुर्व डिएसपी गन्ज सिं गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कर्मचारी हिरा तामाङले गरेकी थिइन् ।