ब्यानर

भूकम्प प्रभावितलाई क्वोने (घोताने–घोण्डे) गुरुङ (तमू) समाजको स्लिपिङ ब्याग

काठमाडौं । क्वोने (घोताने–घोण्डे) गुरुङ (तमू) समाजले जाजरकोटको नलगाड नगरपालिका–१, कलपतका भूकम्प प्रभावितलाई स्लिपिङ ब्याग प्रदान गरेको छ ।

समाजका उपाध्यक्ष श्रीप्रसाद गुरुङ र कोषाध्यक्ष सिआई नारायण गुरुङले कलपतका भूकम्प प्रभावितलाई स्थानीय प्रशासन र सरकारको समन्वयमा समाजको तर्फबाट दुई सय ५० थान स्लिपिङ ब्याग प्रदान गरेको हो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम ढकाल र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष रोकाको सहयोगमा राहत प्रदानको सहज वातावरण बनेको भन्दै कोषाध्यक्ष गुरुङले सहयोग ठूलो नभए पनि स्थानीयको न्यानो मायाले आफूहरूलाई भावुक बनाएको बताए ।

स्थानीयको न्यानो स्वागत असाध्यै स्मरणीय रहेको भन्दै उहाँले सहयोगी सबैप्रति आभारसमेत व्यक्त गरे । राहत वितरण नलगाड नगरपालिका– १ का वडा अध्यक्ष धनबहादुर महर, वडा सदस्य मोतकला परियार, वडा सचिव मानबहादुर चतरालगायतको रोहबरमा गरिएको थियो ।

गत १७ कात्तिकको मध्यरात जाजरकोटको बारेकोट– १, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय पीडा दिएको छ । भूकम्पबाट जाजरकोटमा मात्रै १०१ जनाको ज्यान गएको छ भने १५८ भन्दा बढी घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा ५४ जनाको ज्यान जाँदा १७९ भन्दा बढी घाइते भएको तथ्यांक छ । भूकम्पबाट साढे ३४ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।