गुरुङ विशेष

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनुभएको छ ।
तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग पुगेको बताउनुभयो । उहाँले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताउनुभयो । उहाँले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको औल््याउनु भयो ।
नेपालसहित चीन, मङ्गोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायतका देशमा पनि ल्होसार पर्व मनाइने तर ल्होसारलाई पुकार्ने नाममा भने ती देशमा विविधता भेटिने उहाँको कथन छ ।
२०५८ सालदेखि पुस १५ मा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिँदै उहाँले ०६२/६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बीचमा सार्वजनिक बिदा कटौती गरिएको भएपनि पुनः अहिले सार्वजनिक बिदा दिन थालिएको बताउनुभयो ।
“नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ”, प्रधानमन्त्रीले भन्नुभयो , “संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो ।”
नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताको संगमस्थल भएको तथ्य पेश गर्दै प्रधानमन्त्री दाहालले यहाँ बसोबास गर्ने सबै जाति÷जनजातिको आ–आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको ती सबै संस्कृतिको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको स्पष्ट पार्नुभयो ।
“नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति हो । यो ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो”, प्रधानमन्त्रीले भन्नुभयो, “मानव जातिले पशुपालन र कृषिको सुरूवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।”
यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको उल्लेख गर्दै उहाँले नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व मनाउने गरिएको बताउनुभयो ।
“विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो ।”
प्रधानमन्त्रीले उक्त विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ भन्नुभयो ।
“नेपाली समाज आफैले विकास गरेको मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ । यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ”, प्रधानमन्त्रीले भन्नुभयो । देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ ।
यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन हामी सबैमा उत्प्रेरणा पैदा हुने विश्वासका साथ तमु जातिलगायतमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभयो ।
फरक एक प्रसङ्गमा प्रधानमन्त्रीले विकास निर्माणका क्षेत्रमा र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहलकदमी लिइरहेको बताउनुभयो ।
यसैगरी, सहरी विकास मन्त्री सीता गुरुङले बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधता नेपालको परिचय र सम्पत्ति भएको बताउनुभयो । आज टुँडिखेलमा आयोजित तमू ल्होसार महोत्सव २०८०का अवसरमा उहाँले नेपालका हरेक जातजातीको आ–आफनो पहिचान र परम्परा तथा साँस्कृतिक मूल्यमान्यता रहेको बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, “पुर्खाले सदियौँदेखि जोगाएर राखेको धार्मिक, साँस्कृतिक सम्पदा र संस्कृतिलाई संरक्षण एवम् सम्बद्र्धन गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । हामी सवैले त्यसलाई जोगाउन सक्नुपर्छ ।”
फरक प्रसङ्गमा उहाँले वर्तमान सरकार सुशासनसहित तीव्र विकासमा अघि बढिरहेको बताउँदै नागरिकको अवस्था परिवर्तनका लागि सरकारले अहोरात्र काम गरिरहेको जिकिर गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “नागरिकको  बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीप्रति सरकार सचेत छ । तर सरकारले केही गरेको छैन र केही हुँदैन भन्नु जुन भाष्य निर्माण हुँदैछ त्यो गलत छ । भौतिक पूर्वाधारमै पनि विकासका हिसाबले फड्को मारेको छ ।” सरकारले नागरिक तहमा अनुभूत हुने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री गुरुङले त्यसको परिणाम छिट्टै देखिने र निराशावादी नहुन आग्रह गर्नुभयो ।
नेपाल आदिवासी जनजाती महासङ्घ सङ्घीय परिषद्का अध्यक्ष ग्लाल्जेन लामाले अर्थतन्त्रमा देखिएको मन्दी र विकास निर्माणमा देखिएको शिथिलतालाई चलायमान तुल्याउ सरकारसँग माग गर्नुभयो ।
तमू ह्यालु छोज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले तमू ल्होसारले सवैजातजाति र समुदायमा आपसी सद्भाव कायम गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभयो ।
उहाँले भन्नुभयो, “गुरुङ समुदायका युवालाई विदेश पलायनबाट रोक्न रोजगारी दिइनुपर्छ । नेपाल आदिवासी जनजाति आयोगलाई तमु समुदायको भाषा, सँस्कृति र  भेषभूषाको सम्वद्र्धनका लागि दिँइदै आएको बजेट बृद्धि गर्न सरकारसँग माग गर्छौ ।”
महोत्सव मूल समारोह संयोजक लोकबहादुर गुरुङले तमु समुदायले उठाएका विषयवस्तुलाई प्रधानमन्त्रीबाट सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने प्रतिबद्धता जनाएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपालको आदिवासी मध्ये तमू समुदायको आफ्नै भाषा, सँस्कृति र मूल्य मान्यता तथा बेग्लै पहिचान छ । विश्वमै सहासिक र इमान्दारी जाति र समुदायकारुपमा गुरुङ समुदायले परिचय बनाएको छ । महोत्सवका अवसरमा लामा गुरुद्वारा शान्ति स्वस्ती पाठका साथै तमु समुदायभित्रका विभिन्न १२ समुदायबाट नव वर्षका उपलक्ष्यमा उपलब्ध १२ वटा बेलुन समेत उडाइएको थियो ।
त्यस अवसरमा गुरुङ समुदायबाट समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने मन्त्री गुरुङ, सहसचिव मीना गुरुङ, खेलाडी एरिका गुरुङ र नीतु गुरुङ तथा डा निरबहादुर गुरुङलगायतलाई सम्मान गरिएको थियो ।
महोत्सवका अवसरमा गुरुङ समुदायको भेषभूषा, संस्कार र सँस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो । गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक मौलिक घर, कृषि कर्म गर्दा प्रयोग गरिने हलो, जुवा, कोदालो, हँसिया, ढाँकी, आफन्त भेट्न जाँदा पेरुङमा हालेर लैजाने कुखुराका भालेसहितका विभिन्न सामग्री समेत त्यस अवसरमा प्रदर्शनी गरियो ।
महोत्सवका अवसरमा तमू समुदायले चाडबाडमा प्रयोग गर्ने खानेकुराका  स्वाद चाक्न खरिद–बिक्री कक्षको व्यवस्था गरिएको छ । कार्यक्रममा तमू समुदायको साँस्कृतिक पहिचान झल्कने कौरा, घाटु, मारुनी, झयाउरे तथा चुट्का नृत्यसहित गीत संगीत प्रस्तुत गरिएको थियो ।