समाचार

यसरी मनाइयो बुटवलमा तमू ल्होसार

  • कुमार गुरुङ

बुटवल । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान चाड मुप्री (गिद्ध वर्ग) ल्होसारको अवसरमा बृहत् झाँकी सहित शान्ती र्याली सम्पन्न गरेको छ ।

पुष्पालाल पार्कबाट सुरु भएको झाँकी र्याली नगर परिक्रमा गर्दै परिषदको प्राङ्गण रामनगरमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रमुख अमिक शेरचनले पानसमा बत्ती बालेर उदघाटन गर्नुका साथै त्रिमूर्तिमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले गुरुङ जातिहरुको संस्कार, संस्कृति र रीतिरिवाजहरु सबै आफ्नो जातीय संस्कारसँग मिल्दोजुल्दो भएकोले पुर्खाहरु एउटै हुनसक्ने बताए ।

अहिले आएर मृत्यु संस्कार हरेक कुराहरु समय परिस्थितिअनुसार परिवर्तन हुँदै गएकोले केही भिन्नता भएको बताए । भूमिपुत्र आदिवासी जनजातिहरुले यो भूमिलाई हिजोका दिनमा उर्वर बनाएको र परापूर्वकालमा जनजातिले राज्य संचालन गरेका इतिहासहरु जिवितै रहेको तर हामी नै आज यो भूमिबाट सडकमा पुग्नुपर्ने अवस्था आएकाले अबका दिनमा जनजातिहरुलाई देशको उच्च तहमा पुर्याउनुपर्ने र विभिन्न ओहोदामा जनजातिहरु पुग्नुपर्ने बताए ।

त्यसैगरी, तमु छोज धि मुखपत्रको बिमोचन र तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद बुटवल नगर समितिले नगरभित्र रहेका इकाईमा आवद्ध आर्थिक अवस्था कमजोर भएकाहरुलाई न्यानो कम्बल, खाद्यान्न प्रमुख अतिथिबाट बितरण गरिएको थियो ।

त्रिमूर्तिका छोराहरु डम्बर गुरुङ, मोहन गुरुङ, जय बहादुर गुरुङ र कृष्ण गुरुङले त्रिमूर्तीका नाममा परिषदको प्राङ्गण निर्माण गरिएको मन्च नामाकरण गर्न तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीलाई सात लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

विशेष अतिथि नगपालिका उपप्रमुख साबित्रादेवी अर्याल वक्ताहरु केद्रीय सदस्य झमबहादुर गुरुङ, देवदह इकाईका अध्यक्ष मनबाहदुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गुरुङ पुरोहितहरुले छ्याडु नाच प्रस्तुत गरेका थिए।

त्यसैगरी इकाई स्तरीय नृत्य प्रतियोगितामा लोक दोहोरी गायक तथा नायक धनबहादुर गुरुङ, मम आइडल बिजेता कृष्णकुमारी गुरुङ र नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा छ वटा इकाई समितिलाई पछि पार्दै मधवलिया इकाई समितिले प्रथम पुरस्कार नगद दश हजार प्राप्त गरेका छन । त्यसैगरी द्वितीय पुरस्कार खेमा छोज धि देवदहले नगद सात हजार प्राप्त गरेका छन भने तृतीय पुरस्कार ढेकार इकाई समितिले नगद पाँच हजार र सान्त्वना पुरस्कार नगद तीन हजार, ज्योतिनगर इकाई समिति बुटवलले प्राप्त गरेका छन ।

परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङको स्वागत, संचालन सचिव ओमप्रकाश गुरुङ र आशा गुरुङले गरेका थिए।

यसैबीच, गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ नगर समिति बुटवलले पनि गुरुङहरुको महान चाड मुप्री ल्हो (गिद्ध वर्ग) ३२२७६औ तमु ल्होसार २०८० को अवसरमा शान्ति झाँकी र्याली सम्पन्न गरेको छ ।

प्रमुख अतिथि तमु प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष देवीप्रसाद गुरुङले र्यालिको सुरुवातमा रिवन काटेर गरेका थिए ।

गोलपार्कदेखि सुरु भएको झाँकी र्याली ट्राफिक चोक हुँदै बेलबास १५ पहिले भित्तामा रहेको गुरुङहरुको धार्मिक संस्था कोँहिबो धिसम्म गुरुङ पुरोहितहरुले प्रयोग गर्ने बाजागाजा, त्यसैगरी गुरुङ मौलिक छ्याडु नृत्य का साथ झाँकी र्याली सम्पन्न गरेको छ ।

कार्यक्रममा गुरुङ संस्कृति झल्किने विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । तमु प्ये ल्हु संघ बुटवल नगरका अध्यक्ष रुपबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।