ब्यानर

बहुप्रतिक्षत ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को पहिलो ड्राफ्ट तयार

काठमाडौं । तमूहरुको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई समेटेर प्रकाशनको संघारमा रहेको ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को पहिलो ड्राफ्ट तयार भएको छ ।

गुरुङ (तमू( कल्चर फोरम युकेले प्रकाशन गर्ने तयारी रहेको सो पुस्तकको पहिलो ड्राफ्ट तयार पारिएको जानकारी दिइएको छ । काठमाडौंमा आयोजित दोस्रो सम्पादकीय बैठकमा सो ड्राफ्टबारे जानकारी दिइएको हो ।

मञ्चका प्रमुख संरक्षक प्राज्ञ डा. जगमान गुरुङले पहिलो ड्राफ्टको सम्पादन गरेका हुन् । सम्पादक मण्डललाई हस्तान्तरण गर्नुपूर्व सो बैठकमा छलपल राखिएको मञ्चका डाइरेक्टर क्या. (रि.) राजु गुरुङले जानकारी दिए । सो कार्यक्रममा उनले पुस्तकको पहिलो ड्राफ्टसम्म आइपुग्न धेरै मेहनत परेको, धेरै चरणमा छलफल गरिएको भन्दै अब २०२४ को अन्तिमसम्ममा पुस्तक प्रकाशन गर्ने कार्ययोजना रहेको सुनाए ।

फोरमको स्थापना २०१७ मा भएको हो । त्यसअघिदेखि नै तमू सम्पदा त्रिभाषीय पुस्तक प्रकाशनको थालनी गरेको थियो । तर, अहिलेसम्म पनि पुस्तक प्रकाशन हुन सकेको छैन । सरोकारवाला सबै पक्षसँग व्यापक छलफल गर्दै लेखकहरुले पुस्तकको पहिलो ड्राफ्टसम्म तयार पार्न सफल भएको छ ।

पुस्तकले आकार लिँदै गरेको भन्दै संरक्षक प्राज्ञ डा. जगमान गुरुङले पुस्तक सुत्रात्मक हुने भन्दै व्याख्यात्मक रुपमा नबुझिदिन आग्रह गरे । सबैले सकारात्मक सुझाव दिएर पुस्तक प्रकाशनमा सहयोग गर्न सबै पक्षलाई उनले आग्रह गरे ।

धेरै लामो समयसम्मको मन्थनपछि यो रुपमा पुस्तकलाई ल्याउन सक्नु ठूलो उपलव्धी भएको भन्दै सह–संरक्षक प्रा. नारायण तमूले पुस्तकका विषयमा विवाद भएमा त्यसको निराकरणका लागि तमू संघसंस्थाले मिलाउने भूमिका खेल्नुपर्ने बताए ।

ऐतिहासिक दस्तावेजलाई गुरुङ वस्तीहरुमा गएर अन्तक्र्रिया गरियो भने प्रभावकारी हुने भन्दै तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङले सानातिना कुरा छाडेर अघि बढ्नुपर्ने बताए ।

पुस्तकको पहिलो ड्राफ्टमा हात परेको र सरसर्ती हेर्दा कमी कमजोरी रहेको भन्दै यसलाई छलफल गर्दै लैजान सकिने तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए । सबैको भावना समेट्ने गरी पुस्तक प्रकाशन गर्नुपर्नेमा उनको जोड थियो ।

तमू त्रिभाषीय पुस्तक भावी पुस्ताका लागि महत्वपूर्ण हुने भन्दै यसलाई जसरी पनि पूर्णता दिनुपर्नेमा तमू प्हे ल्हु संघका अध्यक्ष हितकाजी गुरुङको जोड थियो । तमूहरुको लिखित दस्तावेजहरु नभएकाले समुदाय धेरै पछि परेको भन्दै उनले सबै मिलेर त्रिभाषीय पुस्तकलाई पूर्णता दिनुपर्ने बताए ।

कार्यक्रममा तमू पैडी चिवा यारजंग गुरुङ, तमु धिँ युकेका अध्यक्ष हरि गुरुङ, तमू प्हे ल्हु संघ युकेका अध्यक्ष रणबहादुर गुरुङ, लेखकहरु प्रा. शेरबहादुर गुरुङ, सुमलकुमार गुरुङ, एकेन्द्र गुरुङ, डेलमान गुरुङ, तमू अध्येता सीबी घोताने, रेशम गुरुङ, तमू लेम समाजका अध्यक्ष क्या. ओम गुरुङ, मे.रि. लक्ष्मीप्रसाद गुरुङ, इ. नारायण गुरुङ, तारादेवी गुरुङ, खेन्पो सन्तोष गुरुङ लगायतले ड्राफ्ट पुस्तकबारे संक्षेपमा सुझाव राखेका थिए ।

कार्यक्रमलाई अनिता गुरुङ र कुमार गुरुङले सहजीकरण गरेका थिए ।