ब्यानर

मातृभाषा साहित्य शृङ्खलामा गुरुङ मातृभाषा साहित्यबारे छलफल

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले हरेक महिनाको अन्तिम शुक्रबार आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाअन्तर्गत आज गुरुङ (तमू) मातृभाषा साहित्यबारे छलफल गरेको छ ।

गौरी तमूले गुरुङ मातृभाषा साहित्यबारे लामो कार्यपत्र प्रस्तुत गर्दै तमू मातृभाषा साहित्य सिर्जनालाई तीन फरक ढंगले हेरिनु पर्ने बताउनु भयो । जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारजन्य कार्यहरूमा प्रस्तुत गरिने गीति लयमा आधारित छ्याँडुलगायतलाई एक विधाका रूपमा लिनुपर्ने उहाँको भनाइ छ । त्यस्तै प्रकृतिसँग अत्यन्तै निकट सम्बन्ध रहेको गुरुङ जातिमा प्रचलित पर्यावरणसँग सम्बन्धित गीत तथा गीति लय अर्को पक्ष र पहिचानलाई जोडेर गरिएको सिर्जना अर्को पक्ष रहेको उहाँले बताउनु भयो ।

गुरुङ लिखित साहित्यको इतिहास धेरै पुरानो नभएको र राम्ररी विकास पनि नभएको भन्दै सिर्जना, संवाद र विमर्श कार्यक्रममा गुरुङ सुशान्तले कस्तो सिर्जनालाई गुरुङ पहिचान बोकेको सिर्जना भन्नेमा बहस हुनुपर्ने बताउनुभयो । त्यस्तै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले पहिचानका लागि मातृभाषा र मातृभाषामा सिर्जना अति आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रम प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं प्रतिष्ठानको साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न तीन सर्जकले मगर, तामाङ र खालिङ राई भाषाका कविता पनि वाचन गरेका थिए । मातृभाषा साहित्य शृङ्खलाको यो पाँचौँ शृङ्खला हो ।