ब्यानर

वंशु गुरुङ सन्ततिले दिए सिन्धुलीगढी संग्रहालयलाई धनुषवाण

सिन्धुली । वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिन्धुलीस्थित सिन्धुलीगढी युद्ध संग्रहालयलाई धनुषवाण हस्तान्तरण गरेको छ ।

सिन्धुलीगढी विजयोत्सवको अवसरमा कमलामाई नगरपालिकाले शुक्रबार सिन्धुलीगढीमा आयोजित कार्यक्रममा प्रतिष्ठानले युद्ध संग्रहालयलाई धनुषवाण हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानको तर्फबाट अध्यक्ष क्या. लाल जंग गुरुङले नगर प्रमुख उपेन्द्र पोखरेललाई धनुषवाण हस्तान्तरण गरियो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरका वंशु (वंश) गुरुङका सन्ततिले शिकारी सरदार वंशुले प्रयोग गरेको धनुषवाण नगरपालिकाले व्यवस्थापन गर्दै आएको सिन्धुलीगढी युद्ध संग्रहालयका लागि हस्तान्तरण गरिएको बताएको छ ।

ऐतिहासिक सिन्धुलीगढी युद्ध नायक शिकारी सरदार वंशु (वंश) गुरुङको सन्ततिले दिएको धनुषवाणलाई संग्रहालयमा राखिने नगर प्रमुख पोखरेलले बताए ।

नगरपालिकाले अंग्रेज फौजलाई सिन्धुली गढीमा १८२४ असोज १५ गते पराजित गरेपनि समायानुकूल मनाउने क्रममा कात्तिक २४ गते विजयोत्सव मनाउँदै आएको छ ।

जाजरकोट भूकम्पका कारण अन्य औपचारिक कार्यक्रम स्थगित गरेको नगरपालिकाले ठूलो गढीमा झण्डोत्तोलन र गायक कृष्णविक्रम थापाको शालिक अनावरण कार्यक्रम गरेको थियो ।

सो कार्यक्रममा नगरपालिकाका पदाधिकारीहरु, पूर्वमेयर खड्गबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायत सुरक्षा निकायकाका प्रमुखहरु, स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तनहुँबाट क्या. लालजंग गुरुङको नेतृत्वमा ८ जनाको टोली सिन्धुली गढी आएका थिए ।