कभर स्टोरी

ठाडोभाका संरक्षक देवी गुरुङको निधन

लमजुङ । लमजुङे ठाडो भाका संरक्षक एवं संवर्द्धक देवबहादुर गुरुङ (देवी गुरुङ) को ९१ वर्षमा सोमबार निधन भएको छ । ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्क साइँला) सँगै ठाडो भाका संरक्षण र संवर्द्धनमा जुटेका गुरुङको उपचारका क्रममा काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा निधन भएको हो ।

उनका भान्जा नारायणकृष्ण गुरुङले उपचारका क्रममा अस्पतालमा सोमबार बिहान ७ बजेतिर देवी गुरुङको निधन भएको बताए । ठाडो भाका संरक्षण संवर्द्धन क्षेत्रमा देबहादुर गुरुङको नाम देवी गुरुङले चर्चित छ ।

सानै उमेरदेखि ठाडो भाका गाउँदै आएका उनी पछिल्लो ५ वर्षयता प्यारालाइसिसका बिरामी थिए । स्वास्थ्यमा समस्या भएपछि काठमाडौं बस्दै आएका उनलाई अस्पताल भर्ना गरिएको थियो ।

लमजुङको सुन्दरबजार नगरपालिका-७, सुन्दरबजार घर रहेका उनको पुर्ख्यौली घर भने लमजुङकै मध्यनेपाल नगरपालिका-१० थान्सिङ हो । सानै उमेरदेखि ठाडोभाका गाउँदै र यसको रंरक्षणमा जुटेका उनले गण्डकी प्रदेशका धेरै जिल्लामा पुगेर ठाडो भाकाको प्रचारप्रसार गरे । यसको संरक्षण र संवर्द्धनमा जुटे । उनी ठाडो भाकाको संरक्षण र संवर्द्धन जुटेका धेरै भिडियो युट्युबमा देख्न र सुन्न सकिन्छ । उनले आफैं हर्मोनियम बजाएर भजन–चुड्का समेत गाउँदै हिँडे ।

उनको पार्थिव शरीरलाई सोमबार राति लमजुङको सुन्दबरजार ल्याइएको छ । उनको मंगलबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

लमजुङका लोकगायक राजु परियारले देवी गुरुङलाई गुरुको संज्ञा दिँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनले नेपाली लोपुन्मुख लोक गीतसंगीतमा अपुरणीय क्षति पुगेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना लागि दुःखद् दिन भनेका छन् । लोक संगीतको दुनियामा आफ्नो कलिलो हात समाएर, डोर्‍याएर, हिनाएर यो स्थानमा ल्याउन देवी गुरुङको योगदान रहेको उनले बताएका छन् । देवी गुरुङले देखाएको मार्ग नछोठ्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरले संस्कृतिको अभिन्न अंग रहेको ठाडो भाका संरक्षकको निधनले आफू स्तब्ध भएको बताएकी छन् । उनले लोक कला संस्कृतिको जगेर्नाका लागि पुर्‍याएको अतुलनीय योगदान जुग–जुग स्मरणीय रहिरहनेछ भनी सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

साहित्यकार रमेशचन्द्र घिमिरेले लमजुङे ठाडोभाका लोकसंगीतको जगेर्नाका लागि विगत लामो समयदेखि सक्रिय पुराना राष्ट्रिय कलाकार देवीबहादुर गुरुङको निधनले खबरले दुःखी बनाएको बताए । रेडियो नेपालमा २०३२ मा उनीद्धारा रचित पहिलो लोकभजन (नाच न कृष्ण ढल्केर गोपीको मनैमा, रुन्छन् गोपी सम्झेर वृन्दा वनैमा) रेकर्ड भएको साहित्यकार घिमिरेले उल्लेख गरेका छन् ।