गुरुङ विशेष

पोखरामा तमू प्ये ल्हु संघ चितवन सम्मानित

पोखरा ।  तमू प्ये ल्हु संघ चितवनलाई केन्द्रीय समितिले पोखरामा सम्मान गरेको छ। प्ये ल्हु संघको केन्द्रीय समितिको ३१औँ साधारण सभा तथा छैठौँ महाधिवेशनको अवसरमा उत्कृष्ट जिल्ला शाखाको रूपमा चितवन शाखालाई सम्मान गरेको हो।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, गण्डकी प्रदेशका पूर्वमन्त्री वेदबहादुर गुरूङ (श्याम)लगायतको उपस्थितिमा जिल्ला समिति चितवनलाई सम्मानपत्र प्रदान गरिएको हो।

प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्लाबाट अध्यक्ष विक्रम गुरूङसहितको टोलीले सम्मान ग्रहण गरेका छन्।

सम्मान ग्रहणपछि चितवन जिल्लाका अध्यक्ष विक्रम गुरूङले केन्द्रीय समितिको सम्मानले जिल्ला शाखाको गरिमा उच्च हुनुका साथै जिम्मेवारी पनि थप भएको बताए। ‘आगामी दिनमा अझ राम्रो काम गरेर देखाउन हौसला पनि मिलेको छ,’ उनले भने।