कभर स्टोरी

कराँतेबाट एरिका गुरुङले दिलाईन् नेपाललाई ऐतिहासिक पदक

हङकङ । नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी छिन् ।

फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित हुँदा एरिका रजतमा सिमित भइन् । एरिकाले कराते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन् । यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक ल्याएका थिए । एरिका नेपालका लागि पहिलो स्वर्ण जित्ने इतिहास रच्नबाट भने बन्चित भइन् ।

एरिकाले यसअघि सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरेकी थिइन् ।

यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १-१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन् ।

यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।

समग्र एसियाड इतिहासमा यो नेपालको २६ औं पदक हो । यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो । यसपटक नेपालले १ रजत र १ कास्य पक्का गरिसकेको छ । अब करातेमै ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

नेपालले १७ वर्षपछि एसियाडको एकै संस्करणमा दुई पदक जितेको हो । २०१० र २०१४ मा कास्यमा सिमित नेपाली टोली २०१८ मा एकल रजत जितेर फर्केको थियो ।