समाचार

तमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा नागरिक पत्रकारिता तालिम सम्पन्न

पोखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ, कास्कीको आयोजना तथा तमु धिं नेपालको समन्वयमा २ दिने नागरिक पत्रकारिता तालिम सम्पन्न भएको छ ।

तालिम तमु धिं नेपालसँग आबद्ध रहेका विभिन्न समाजको प्रतिनिधिहरुलाई लक्षित गरी आयोजना गरिएको हो । समाजका प्रतिनिधिहरुले नागरिक पत्रकारिताको महत्व र समाजको गतिविधिहरुलाई विभिन्न समाजिक सञ्जालको प्रयोग गरि सुचना जानकारी प्रसारण गर्न सकोस भन्ने उद्देश्यले आयोजना गरिएको हो ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ (लाला)को प्रमुख आतिथ्यतामा विशेष अतिथि वरिष्ठ सञ्चारकर्मी शान्ती गुरुङ, फोनिज गण्डकीको महासचिव धन बहादुर गुरुङ (सुमन), फोनिज कास्कीका अध्यक्ष पञ्च सुब्बा गुरुङ लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो ।

समापन कार्यक्रममा तालिममा सहभागीको मन्तव्यको क्रममा रुद्र बहादुर घले, ना.सु. बेद बहादुर गुरुङले तमु समाज भूपूहरुले धानिरहेको अवस्था र अव नयाँ पुस्ताहरुप्रति लक्षित हुनुपर्ने बताएका थिए । त्यस्तै तिलु गुरुङले “आफु फोटो खिच्न नजान्दा साथीहरुले जिस्काउने अब तालिमले म उनिहरुभन्दा जन्ने भएको” बताए ।

कार्यक्रममा प्रशिक्षक शान्ती गुरुङले “प्रमाण पत्र सिरानीमा नराखी देख्ने ठाउँमा राख्नु, तपाईहरुको ऐना हो” सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।

त्यस्तै प्रमुख अतिथि चित्र बहादुर गुरुङले “सम्पूर्ण तमु संघसंस्थाका नेतृत्वकर्ताहरु आपसमा जुटेर सहकार्य गरे हरेक कुराहरु सम्भव हुने” बताए ।

तालिममा तमु सञ्चारकर्मी संघ नेपालको सल्लाहकार एवं तमु धि नेपालको केन्द्रिय अध्यक्ष हुम बहादुर गुरुङ, बरिष्ठ सञ्चारकर्मी शान्ती गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालको केन्द्रिय अध्यक्ष चित्र बहादुर गुरुङ (लाला) र कास्की जिल्ला अध्यक्ष युग गुरुङले प्रशिक्षण दिएका थिए । तालिममा ५६ जना प्रशिक्षार्थीहरु सहभागी थिए भने तालिम तमु धिं नेपालको रोधींहलमा सञ्चालन गरिएको थियो ।