गुरुङ विशेष

मिरुवा तमु समाजको ३०औं साधारणसभा

पोखरा । तमु धिं नेपाल अन्र्तगत क्रियाशिल पोखरा २ मिरुवास्थित मिरुवा तमु समाज पोखराको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था मिरुवा तमु समाजको साधारणसभाको प्रमुख अतिथि समाजसेवी पदमसुवा गुरुङले उद्घाटन गर्नुहुदै शुभकामनासहित आशिर्वाद प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको सामुहिकता, एकता, अधिकारका लागि तमुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

मिरुवा तमु समाजको आन्तरिक एकता उदाहरणीय भएको भन्दै तमु समाज भवनहरुलाई ज्ञान, सिप, नैतिकता, अधिकार बुझ्ने सिक्ने केन्द्रका साथै युवा तथा बालबालिकालाई आकर्षित गर्नुपर्ने उहाँको भनाई थियो।

यसरी नै शुभकामना व्यक्त गर्नुहुदै सफल व्यवसायी प्रेमबहादुर गुरुङले तमुहरुको एकता, दुःख, सुखको आधार, व्यवसायिकतामा अघि बढ्नुपर्नेमा जोड दिनुहुदै प्रतिष्ठित व्यपारी भाट भटेनीका संचालक मिनबहादुर गुरुङ अन्यायमा परेको बताउनुभयो।

यसरी नै कार्यक्रममा आमा समितिकी अध्यक्ष हाइसुवा गुरुङ, निवर्तमान अध्यक्ष सुवेदार राजबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

साधारणसभामा मिरुवा तमु समाजमाको वार्षिक प्रतिवेदन खेमबहादुर गुरुङ, आर्थिक प्रतिवेदन सुशीला गुरुङले प्रस्तुत गर्नुभएको थियो भने साधारण सभाले पारित गरेको थियो।

समाजका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलबहादुर गुरुङले स्वागत, संचालन खेमबहादुर गुरुङ र सुशीला गुरुङले गर्नुभएको थियो।

साधारणसभासँगै नजिकिदै गरेको तिजको आगमनको अवसरमा समाजले दिदिबहिनीहरुलाई दरखुवाउने, साँस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान दर खाने कार्यक्रम समेत गरिएको थियो।