गीत–संगीत

चलचित्र ‘झुपडी’ असोज २४ गतेदेखि प्रदर्शन हुँदै

काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरुले अब छिट्टै चलचित्र झुपडी हेर्न पाउने भएका छन । यो चलचित्र गुरुङ समुदायको सामाजिक सेरोफेरोमा केन्द्रित रहेको छ । चलचित्र झुपडी नेपालको पर्वत जिल्लाको फलेबास नगरपालिकामा पर्ने सुन्दर गुरुङ गाउँ ठानामौलामा भएको सत्य घटनामा आधारित छ ।

यो चलचित्रको मुख्य कथासार गरिबी नै हो । चलचित्र झुपडीका कथाकार एन बि गुरुङ हुनुहुन्छ भने यसको निर्माणमा हितकाजी गुरुङ, श्री गुरुङ, पृथ्बी गुरुङ, राजुकुमार गुरुङ, एन बि गुरुङ र कोमल गुरुङले लगानी गर्नुभएको छ ।

त्यस्तै रामबहादुर गुरुङ यो चलचित्रका कार्यकारी निर्माता हुनुहुन्छ । यो चलचित्रको कथा र पटकथा कृष्णकुमार गुरुङले लेख्नुभएको हो । निर्देशन पनि उहाँले नै गर्नुभएको छ ।

भकारी एभेन्ट्सको ब्यानरमा निर्माण भएको चलचित्र झुपडीमा बिस्वात्मा गुरुङ, अनुता गुरुङ, अमृता गुरुङ, राजेन्द्र थापा, यशोधा कुँवर, प्रकृति गुरुङ, आइतारम गुरुङ, प्रतिमा गुरुङ, सुर्यबहादुर गुरुङ, देउता गुरुङ र डी बि गुरुङको अभिनय हेर्न पाइन्छ ।

गरिबी समस्या मात्रै हैन, समाधानका थुप्रै उपायहरु फेला पार्न सकिने विषय पनि हो भन्ने सन्देश दिन खोजेको चलचित्र झुपडीलाई मिलन शंकरले खिच्नुभएको छ भने नेत्र गुरुङले सम्पादन गर्नुभएको छ ।

फिल्ममा गणेश गुरुङ र साजन गुरुङले नृत्य निर्देशनको जिम्मा सम्हाल्नुभएको छ । फिल्म झुपडीका लागि कृष्ण कुमार गुरुङ र एन बि गुरुङले गीत लेख्नुभएको हो ।

त्यसैगरी कृष्णकुमार गुरुङ र कर्णदासले संगीत दिनुभएको छ । फिल्ममा कर्ण दास, तारा श्रीस मगर र प्रितम गुरुङले गीत गाउनुभएको छ ।

चलचित्र ४५ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिनुभयो । यो चलचित्रको सहनिर्देशन सोम गुरुङको रहेको छ भने निर्माण नियन्त्रणमा पूर्ण गुरुङ र प्रकृति गुरुङले सघाउनुभएको छ ।

त्यस्तै श्रृंगारमा राजु वाइवाले आफ्नो क्षमता प्रस्तुत गर्नुभएको छ । चलचित्र यही असोज २४ देखि पोखरा मिड टाउन सिनेमा हलमा प्रदर्शन हुने निर्देशक गुरुङले जानकारी दिनुभयो ।

युके, अमेरिका, हङकङ, जापान र युरोपका बिभिन्न मुलुकहरुमा चलचित्र प्रदर्शनको तयारी भैरहेको छ । चलचित्र झुपडीका निर्देशक कृष्णकुमार गुरुङले यसअघि पनि थुप्रै चलचित्रहरु निर्देशन गरिसक्नुभएको छ ।

गुरुङले निर्देशन गर्नुभएको सुनीमाया, घलेक, मेरो जीबन, मुर्बै मुसारा, बलेनी, तमु ह्युला, डर्टी पोखरा, सबन मु जस्ता चलचित्रहरु दर्शकहरुमाझ लोकप्रिय भैसकेका छन भने चलचित्र ढ्याँग्रो र यम्फावती प्रदर्शनको तयारीमा छन ।