गुरुङ विशेष

तमू ह्युल छोँज धीँको आयोजनामा आजदेखि चितवनमा गुरुङ भाषा कक्षा सुरू

भरतपुर । तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनले आइतबारदेखि गुरूङ (तमू) भाषाको कक्षा सुरू गरेको छ । तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवन र ह्युल छोँज धीँको र तमूस्यो ह्युल छोँज धीँको भरतपुर महानगर समिति सहआयोजक भएर भाषा कक्षा सञ्चालन गरेको हो ।

भरतपुर–२ स्थित महाबौद्ध गुम्बा (तीनखोले)मा सुरू भएको भाषा कक्षा भदौ २ गतेसम्म सञ्चालन हुनेछ । फरक जिल्लाका गुरूङहरूको बसोबास बाक्लिँदै जाँदा चितवनमा बोलिने गुरूङ भाषामा विविधता पाइने र नयाँ पुस्ताले त्यो पनि बिर्सँदै गएको हुँदा भाषा कक्षा अपरिहार्य रहेको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् ।

गुरूङ भाषाको लिपि लोपोन्मुख अवस्थामा पुगिसकेको छ । त्यसैले अहिलेको सिकाइ रोमन (नेपाली) अक्षरकै आधारमा हुने प्रशिक्षक सीतादेवी गुरूङले बताइन् । सामान्यतयाः आधारभूत सिकाइको लागि कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

घरगाउँमा नियमितरूपमा बोलीचालीमा प्रयोग हुने शब्दलाई आधार मानेर कक्षा सञ्चालन गरिएको अर्की प्रशिक्षक उमिता गुरूङले बताइन् । हाललाई आधारभूत सिकाइ भए पनि पछि कुनै समय थप सिकाइको चरणमा थप गहिराइमा जान पनि सकिने उनले बताइन् । भाषा सिक्नको लागि महिला दिदीबहिनीहरूको सङ्ख्या बढी छ ।

पछिल्लो समय पुस्तान्तरण हुँदै जाँदा कतिपय शब्द नेपालीकरण भइसकेको हुँदा त्यसलाई बढ्न नदिन पनि सिकाइ आवश्यक परेको तमूस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष शकुन्तला गुरूङले बताइन् । पछिल्लो समय जन्मिएकाहरूले पुरानो कुरा सिक्न नपाउँदा भाषा नै लोप हुने खतरा बढेको हुँदा केही समयमात्रै भए पनि आन्तरिक स्रोत जुटाएर कक्षा चलाएको उनले बताए ।

कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि रहेकी ह्युल छोँज धीँकी केन्द्रीय सल्लाहकार शारदा गुरूङले समय थोरै भए पनि ध्यान दिएर सिक्न आग्रह गरिन् । आफूले सिकेका कुरालाई घरमा पनि सिकाउन सके प्रभावकारी बन्दै जाने उनले बताइन् । ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष एवम् अग्रज चन्द्रमान गुरूङले ठाउँअनुसार भाषामा थोरै भए पनि भिन्नता हुने हुँदा एउटै शब्द पनि फरक हुन सक्ने बताए । त्यस्तो अवस्थामा प्रशिक्षकहरूसँग दोहोरो सम्वाद गरेर भाषाको सिकाइलाई प्रभावकारी बनाउन सुझाव दिए ।

तमूस्यो ह्युल छोँज धीँ, चितवन, तमू ह्युल छोँज धीँ भरतपुर नगरसमिति र तमूस्यो ह्युल छोँज धीँ भरतपुर नगर समिति सहआयोजक बनेर चलाएको भाषा कक्षामा करिब ५० जना सहभागी छन् । १५ दिनसम्मको लागि उमिता गुरूङसँगै तुलमान गुरूङ र सीतादेवी गुरूङले भाषा सिकाउँदै छन् ।