कभर स्टोरी

गोरखा लाप्राकका युक्त गुरुङले चढे १२ दिनमा आठ हजार मिटरका ४ हिमाल

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त)ले १२ दिनमा आठ हजार मिटर उचाइका चार हिमालको सफल आरोहण गरेका छन् । आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका गुरुङले यो सिजनमा पाकिस्तानमा रहेको आठ हजार मिटरका चारवटा हिमाल आरोहण गरेका हुन् ।

गत जुलाई १७ मा ८ हजार ३५ मिटरको गेशब्रुम दुई, जुलाई २१ मा ८ हजार ८० मिरटको गेशब्रुम एक र जुलाई २५ मा ८ हजार ६८ मिटरको ब्रोड पिक हिमाल आरोहण गरेका हुन् । त्यस्तै जुलाई २८ मा विश्वकै दोस्रो अग्लो ८ हजार ६११ मिटरको अल्लो माउण्ड केटु हिमाल आरोहण गरेको गुरुङले जानकारी दिए । योसँगै गुरुङ समुदायबाट माउण्ट केटु हिमाल दोस्रो पटक आरोहण गर्ने उनी पहिलो व्यक्ति बनेका छन् ।

खराब मौसमका बाबजुद पनि सफलतापूर्वक हिमाल आरोहण गर्न सफल भएको उनले बताए । युक्रेनको पर्यटकलाई हिमाल आरोहण गराइदिने क्रममा इलिट एक्सपेड कम्पनीमार्फत पथप्रदर्शकका रुपमा गुरुङ एकै सिजनमा आठ हजार मिटरका चारवटा हिमाल आरोहण गर्न सफल भएका हुन् ।

नेपाल फर्किए पछि इन्टरनेशनल माउण्टेन गाइडका लागि तयारी थाल्ने उनको योजना छ । मनास्लु, धौलागिरी र आमदव्लम हिमाल चढ्ने समेत उनको तयारी छ । गुरुङले हालसम्म विश्वको सर्वाेच्च शिखर सगरमाथा सात पटकसम्म आरोहण गरिसकेका छन् । सन् २०११ मा २२ बर्षको उमेरमा पहिलो पटक सगरमाथा आरोहण गरेका उनी गुरुङ समुदायबाट सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति समेत हुन् ।

उनले गोरखास्थित ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु चारपटक आरोहण गरिसकेका छन् । त्यस्तै पाकिस्तानस्थित माउण्ड केटु र ब्रोडपिक दुई÷दुई पटक आरोहण गरिसकेका छन् । अन्य हिमाल भने एक÷एक पटक मात्र आरोहण गरेको उनले बताए । हालसम्म ८ हजार मिटर अग्लो १० वटा हिमाल आरोहण गरिसकेको उनले जानकारी दिए । अव नेपालको धौलागिरी, चोयु, पाकिस्तानको नांगा पर्वत र चिनमा रहेको सिसापाङ हिमाल आरोहण गर्न बाँकी रहेको उनले बताए । पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य खोज्दै उनी १७ बर्षको उमेरदेखि यस क्षेत्रमा लागेका थिए ।

आरोही गुरुङले केही महिनाअघि मात्र तीन महिनाको अवधिमा आठहजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल आरोहण गरेका थिए । वैशाख २ मा अन्नपूर्ण हिमाल(८,०९१ मि.), जेठ २ मा सगरमाथा हिमाल (८,८४८ मि.) र जेठ ३ मा लोत्से हिमाल (८,५१६ मि.) को सफल आरोहण गरेका थिए । त्यस्तै जेठ ९ मा मकालु हिमाल (८,४८१ मि.) र जेठ १८ मा कञ्चनजङ्गा हिमाल (८,५८६ मि.) को आरोहण पनि गरेका थिए ।

सन्दीप गुरुङ

त्यस्तै लाप्राकका सन्दीप गुरुङले पनि साउन १२ मा माउण्ट केटुको सफल आरोहण गरेका छन् । यस अघि सगरमाथा आरोहण गरिसकेको गुरुङले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो माउण्ट केटु आरोहण गरेका हुन् । उनले सगरमाथा ल्होत्से हिमाल, अमादब्लम, हिमलुङलगायतका ६ वटा हिमाल आरोहण गरिसकेका छन् ।