कभर स्टोरी

बैदेशिक रोजगारीबाट फर्केर गाउँमै ड्रागन फ्रुट खेतीमा रमाउँदै गोरखाका सोम गुरुङ

केशव गुरुङ, गोरखा । धार्चे गाउँपालिका–७ लापुवेशीमा उनले ड्रागन फ्रुट खेती सुरु गरेको तीन बर्ष भयो । लापुगाउँका सोमबहादुर गुरुङले गत बर्षबाट ड्रागन फ्रुट बेच्न थालिसकेका छन् ।

रोजगारीका क्रममा दक्षिण कोरिया जाँदा ड्रागन फ्रुटको खेती गरेको देखेपछि त्यहाँबाट फर्केपछि उनले करिव १२ लाख लगानी गरेर सो खेती गर्न सुरु गरेका हुन् ।

उनका अनुसार गत बर्ष फ्रुट बेचेर एक लाखभन्दा बढी आम्दानी गरिसकेका छन् । यो बर्ष अझै बढि तीन लाख रुपैयाँ आम्दानी भइसकेको उनी बताउँछन् । ‘अहिले राम्रै फल लागेको छ । म सन्तुष्ट छु’, उनले भने, ‘किन्ने ग्राहकहरुको पनि कमी छैन ।’ दैनिक १० देखि १५ जना फल किन्न आउने गरेको उनले जानकारी दिए । उनी प्रतिकेजी ५ देखि ६ सय रुपैयाँ सम्ममा यो फल बेच्छन् । उत्पादित फल स्थानीय स्तरमै खपत हुने गरेको छ । गोरखा बजार, आरुघाट, सोती, लापु आर्खेतसहित काठमाण्डौसम्म पनि पुग्ने गरेको उनी बताउँछन् ।

फल छिमल–छिमलका छन् । केही बोटमा फल टिप्ने बेला भइसकेको छ, केहीमा फुल फुलिरहेको छ । फुल फुलेको ४५ दिनमा फल तयार हुने भएकाले असोज मसान्तसम्म पनि फल टिप्न मिल्ने उनको भनाइ छ ।

यो बर्ष थप दुई लाख बढी आम्दानी हुनेमा उनी आशावादी छन् । ‘उत्पादन हुने क्रम जारी छ, लट लटमा फल टिप्न मिल्छ, त्यसैले आम्दानी अझै बढ्छ भन्नेमा म ढुक्क छु,’ उनले भने । बजारमा माग अनुसार फल उत्पादन गर्न नसकिएको उनले बताए ।

धार्चे ड्रागन फलपूmल फर्म दर्ता गरेर गुरुङले २०७८ सालदेखि ड्रागन फ्रुट खेती सुरु गरेका हुन् । लापुबेशीमा रहेको आफ्नै सात रोपनी जग्गामा उनले खेती गरेका हुन् । उनको कृषि फर्ममा सेतो र रातो प्रजातिका गरी करिव १४ सय बोट छन् । खेतीका लागि उनले कृषि ज्ञानकेन्द्र र गाउँपालिकाबाट अनुदान समेत पाउँदा उनी उत्साहित छन् ।

स्वरोजगार भइयो भने आफ्नो कम्पनीको आफै मालिक हुन पाइन्छ भनेर बुझ्न उनलाई लामो समय लाग्यो । त्यसो त व्यवसाय गर्न बिउ पुँजी पनि चाहिन्थ्यो, त्यसैले उनले नौ बर्ष दक्षिण कोरियाको भूमिको बैदेशिक रोजगारीमा बिताए । आफ्नो व्यवसायको आफै मालिक बनेपछि उनी अहिले स्वदेशमै ड्रागन पु्रmटको खेतीमा रमाइरहेका छन् । विदेशमा रहँदा ड्रागन पु्रmटको फल देखेको र खाँदा मिठो र स्वादिलो लागेकाले उनले स्वदेशमै खेती गर्ने योजना बनाएका थिए । सोही अनुसार उनी नेपाल फर्केर बिभिन्न ठाउँमा भएको ड्रागन फ्रुट खेतीको अवलकोन गरी आफ्नै गाउँमा व्यवसायिक रुपमा खेती सुरु गरेका हुन् ।

खेतीका लागि उनले सुरुमा कृषि ज्ञान केन्द्रका प्राविधिकबाट माटो परीक्षण गराएका थिए । उपयुक्त देखिएपछि उनले खेती सुरु गरेका हुन् । खेतीका लागि उनले तालिम भने लिएनन् । तर ड्रागन फ्रुट खेती भइरहेको बिभिन्न ठाउँको अवलोकन गरेर आवश्यक परामर्श भने लिएका थिए । उनलाई खेतीका लागि आवश्यक सहयोग उनका परिवारका सदस्यले गरिरहेका छन् । गाउँमा फल फलेको देखेर स्थानीयहरु दंग परेको उनले बताए । ‘सुरुमा सबैले यो के रोपेको भनेर हाँसिमजाक गरे, अहिले लटरम्म फल फलेको देखेर, फेरि खाँदा स्वादिलो पनि भएपछि उनीहरु दंग छन् ।’

उत्तरी गोरखामा ड्रागन फ्रुट खेती गर्ने आफू पहिलो किसान रहेको उनको दावी छ । मनास्लु पदमार्ग हुदै उत्तरी गोरखा आउने पर्यटकहरु फर्म अवलोकन गरेर जाने गरेको उनको भनाइ छ । खेतीलाई बिस्तार गर्ने उनको योजना छ । तर जग्गा नपाउँदा समस्या भएको उनले गुनासो गरे ।

ड्रागन फ्रुटबाट हुने फाईदाहरु ः
चिकित्सकका अनुसार ड्रागन फ्रुट विशेष गरी सुगर र कोलेस्ट्रालका विरामीहरुका लागि यो हितकर मानिन्छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न यसले धेरै मद्दत गर्दछ । यो एन्टिअक्सिडेन्टको राम्रो श्रोत भएकाले बाथ रोगका बिरामीहरुलाई पनि धेरै लाभदायक छ । त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ । यो फलको शेवनले शरीरको तौललाई सन्तुलन राख्न मद्दत गर्छ । यसले मानिसलाई सधै जवान राख्न भूमिका खेल्छ, बुढो हुने प्रक्रिया पनि ढिलो गराउँछ । साथै आस्माका रोगिहरुको लागि सहयोगी पनि छ । यो भिटामिन र मिनिरल्सको राम्रो श्रोत हो ।