गुरुङ विशेष

१४औं नेपाली मेलाको तयारी पूरा, तमुधिँ युकेले दियो अगष्ट २७ मा केम्प्टन पार्कमा सबैलाई निम्तो

बेलायत । तमुधिँ युकेले आयोजना गर्दै आएको नेपाली मेलाको तयारी पूरा भएको छ । १४औं नेपाली मेला अगष्ट २७ तारिख आइतबारका दिन केम्प्टन पार्कमा आयोजना हुँदैछ ।

मेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक परशु गुरुङले मेलाको सम्पूर्ण तयारी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बिबिध कार्यक्रमहरुको साथमा आयोजना गर्न हामी तयार भईसकेको कुराको यहाँहरु सम्पूर्णलाई सहर्ष जानकारी गराउँन चाहन्छौं ।’

नेपालबाट हजारौं माइलको दूरीमा रहेतापनि आफ्नो भाषा, भेषभूषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई जीवन्त राख्ने उद्देश्यले तमुधिँ युकेले बेलायती भूमिमा स्थापित बिभिन्न संघसंस्था समुदायहरुहरुको सहकार्य हौसला, साथ र सहयोगले नेपाली मेला जस्तो बिशाल कार्यक्रमको आयोजना गर्न सक्षम भएका छन् ।

मेलाको तयारीबारे जानकारी दिँदै संयोजक परशु गुरुङले भन्नुभयो, ‘एकातिर यस कार्यक्रमको आयोजनाले नेपाली समुदाय, संघ संस्थाहरु बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने अर्कोतिर यहाँका स्थानिय बासी समक्ष हाम्रो नेपाली कला र संस्कृति प्रस्तुत गर्ने एक थलो बनेको छ । अर्को महत्वपूर्ण कुरा भनेको यो कार्यक्रमको नयाँ पुस्ताहरुलाई नेपाली भाषा, कला र संस्कृतिलाई हस्तान्तरण गराउने एक माध्यम पनि हो र बिस्तारै आफ्नो परम्परालाई जीबन्त राख्न सकोस भन्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’

यस वर्ष युवा आकर्षण बढाउन मेला आयोजकले विशेष कार्यक्रम अघि सारेको छ । युवाहरुलाई प्रस्तुतिका लागि समय व्यवस्थापन गरिएको र पुरस्कार तथा मेडलको समेत व्यवस्था गरिएको जनाएको छ ।

मेलाको विशेष आकर्षण भनेको झाँकी हो । झाँकीमा सहभागी हुने संस्थाहरुका लागि पुरस्कारको व्यवस्था गरेको छ । मेलामा ३२ संघसंस्था र समुदायको झाँकीको सहभागिता रहने छन् ।

मेलामा १० हजारको उपस्थिति रहने अनुमान गरिएको छ । त्यस्तैगरी मेलामा रेष्टुरेण्ट, उद्यमी र ब्यापारीहरु गरी ३७ वटा स्टलहरु दर्ता भइसकेको संयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रेस विज्ञप्तिको पूर्णपाठ–

कार्यब्यस्तताका बाबजुद पनि हाम्रो निमन्त्रणालाई स्विकारेर यहाँ उपस्थित भईदिनु भएकोमा तपाई सम्पूर्ण महानुभाबहरु बिशेष गरी पत्रकारज्यूहरुमा तमुधी यूकेको तर्फबाट र म नेपाली मेला २०२३ को संयोजक परशु गुरुङ्गको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।

हाम्रो भाषा हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचानहाम्रो अस्तित्व नै हराउँछ । हराउँछ । त्यसैले नेपाली भाषा कला र संस्कृतिको संरक्षण र सम्ब र्धन गर्नु पर्दछ भन्ने उद्देश्यका साथ तमुधी यूकेले २००९ साल देखि निरन्तर रुपमा यो नेपाली मेलाको आयोजना गर्दै आईरहेको छ। यसै निरन्तरतालाई हृदयगमन गर्दै १४धौं नेपाली मेला यहिं अगष्ट २७ तारिक आइतबार Kempton Park Racecourse Staines Road East Sunbury-On-Thames TW16 5AQ मा बिबिध कार्यक्रमहरुको साथमा आयोजना गर्न हामी तयार भईसकेको कुराको यहाँहरु सम्पूर्णलाई सहर्ष जानकारी गराउँन चाहन्छौं ।

स्वदेशबाट हामी हजारौं माइलको दूरीमा रहेतापनि हामी हाम्रो भाषा, भेषभुषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई सजीब राख्ने उद्देश्यले बेलायती भूमिमा स्थापना गरिएका बिभिन्न संघ संस्था समुदायहरुहरुको सहकार्य हौसला, साथ र सहयोगले नेपाली मेला जस्ता बिशाल कार्यक्रमको आयोजना गर्न सक्षम भएका छौं ।

एकातिर यस कार्यक्रमको आयोजनाले नेपाली समुदाय, संघ संस्थाहरु बीचको सम्बन्ध प्रगाढ बनाउँन महत्वपूर्ण भूमिका खेलेको छ भने अर्कोतिर यहाँका स्थानिय बासी समक्ष हाम्रो नेपाली कला र संस्कृति प्रस्तुत गर्ने एक थलो बनेको छ । अर्को महत्वपूर्ण कुरा भनेको यो कार्यक्रमको नयाँ पुस्ताहरुलाई नेपाली भाषा, कला र संस्कृतिलाई हस्तान्तरण गराउने एक माध्यम पनि हो र बिस्तारै आफ्नो परम्परालाई जीबन्त राख्न सकोस भन्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।

यस कार्यक्रममा धेरै युवा नानीहरुको उपस्थिति रहोस भन्ने हेतुले केहि बर्ष अघिदेखि युवानानीहरुको आफ्नो प्रस्तुति दिनको लागि केहि समय छुट्ट्याई दिएका पनि छौं । सदा झैं यस बर्ष पनि झाँकी तथा नृत्य प्रतियोगितामा उत्कृष्ट हुने संघसंस्थालाई नेपाली राज दूताबास लण्डनले प्रायोजन गर्दै आएको कप बिगत केहि बर्ष अगाडिदेखि गैरआवासीय नेपाली संघ यूकेले प्रायोजन गरेको NRNA कप्, मेडल, प्रमाण पत्र र £११०० नगद पुरस्कार प्रदान गरिनेछ । उपबिजेता वा दोश्रो स्थान मा आउने संस्थालाई £७०० र तेश्रो हुनेलाई £५०० नगद पुरस्कार अनि प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तैगरि झाँकी र नृत्यमा प्रथम हुने लाई £५०० दोश्रो हुनेलाई £४०० र तेश्रो हुनेलाई £३०० नगद पुरस्कार प्रदान गरिनेछ । साथै झाँकीमा ३ वटा संस्थालाई सान्त्वाना स्वरुप £२०० को दरले र नृत्य म २ वटा संस्थालाई £२०० को दरले सान्त्वाना पुरस्कार दिइनेछ ।

करिब १० हजार दर्शकहरुको उपस्थितिको अपेक्षा राखिएको यस कार्यक्रमको संयोजना गर्ने अवसर मलाई उपलब्ध गराई दिनुभएकोमा तमुधी यूकेका अध्यक्ष श्री हरि गुरुङ्गज्यू र कार्यसमितिलाई हार्दिक आभार ब्यक्त गर्दछु । यस कार्यक्रमको पूर्ब तयारीको लागि झण्डै ७० जना आयोजक समितिको सहकार्यमा यस घडीसम्म सम्पूर्ण कामहरु तयारी अवस्थामा रहेको जानकारी गराउँन चाहन्छु ।

नेपाली राजदूताबासको सहकार्य, गैर आवासीय नेपाली संघ यूके लगायत बेलायतमा रहेका नेपाली संघ संस्थाहरु बिभिन्न ब्यवसायमा संलग्न हुनुभएका ब्यवासायीहरु, उद्यमी बर्ग, बेलायतबासी नेपाली आदरणीय बाबाआमा दाजुभाइ, दिदिबहिनी तथा युबा नानीहरुको अतुलनीय साथ र सहयोगले बिगत २००९ देखि तमुधी यूकेलाई यो कार्यक्रमको आयोजना गर्न अति सहज भएको र सफल भएको कुरा अवगत गराउँन चाहन्छु ।

कार्यक्रमको अवधिमा अचानक हुनसक्ने आपतकालीन अवस्था र स्वास्थ्य सुरक्षा सम्बन्धमा हाम्रो बिशेष ध्यान केन्द्रित रहेको छ । Kempton Park Racecourse आफैले पनि हरेक हप्ता बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको हुँदा यस कार्यक्रमको लागि पनि प्राथमिक उपचारको लागि साधन सहित उपचार कर्मी Racecourseले नै ब्यवस्था गर्नेछ । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेको आफ्नो जात जाती रीतिरिवाज भेष भुषा मा आधारित झाँकी र नृत्यमा सहभागी हुनको लागि बेलायतमा रहेका ३२ वटा बिभिन्न समुदायका बिभिन्न संघ संस्थाहरु सहभागी हुने भएका छन् ।

त्यस्तैगरि रेष्टुरेण्ट, उद्यमी र ब्यापारीहरु गरि ३७ वटा स्टलहरु दर्ता भईसकेका छन् । सदा झैं यस पटक पनि भाग्योदय चिट्ठा पनि कार्यक्रममा समावेश गरिएको छ । यसको लागि छुट्टै टिकट किन्नु पर्दैन । प्रवेष टिकटमा नै समावेश गरिएको छ । यसको प्रथम पुरस्कार न्यू लक्की ज्वेलरी (मेजर योगेश राई) ले एक तोला सुन प्रायोजन गर्नु भएको छ ।

सबैको जानकारीको लागि यस कार्यक्रमको प्रवेश शुल्क १२ बर्षदेखि माथिकालाई प्रतिव्यक्ति र कारपार्किंगको लागि £5 लाग्नेछ भने बस र भ्यान पार्किंगको लागि १० लाग्नेछ । यस कार्यक्रमको लागि तमुधी यूकेका आमा समुहकी अध्यक्ष श्रीमती सन्ध्या गुरूँगको संयोजकत्वमा प्रवेशद्वारमा टिकट बिक्री गर्ने, अतिथिहरुलाई सत्कार गर्ने र ख़ानपिनामा विशेष हेरचाह गर्न ठूलो भूमिका रहनेछ ।

त्यस्तैगरि शनिवार २६ तारिक मुख्य कार्यक्रमको तयारी गर्नको लागि सबै स्वयंयेवकहरुको लागि तमुधी लण्डन इकाईका आमा समुहकी अध्यक्ष श्रीमती कमला गुरूँगको संयोजकत्वमा आमा समुहको स्वेच्छाले खाजाभुजाको ब्यवस्था गर्ने भएको छ । यस कार्यक्रमको आयोजना गर्न धेरैजनाको ठूलो भूमिका रहेको छ ।

बिशेषगरि म उपाध्यक्ष परशु गुरूँगको संयोजकत्वमा अध्यक्ष हरि गुरूँग, बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरूँग, उपाध्यक्ष कमल गुरूँग, महासचिव डा बिशाल गुरूँग, कोषाध्यक्ष श्रीमती दिलमाया गुरूँग, सहकोषाध्यक्ष दुर्गा गुरूँग, सल्लाहकार ले. कुसांग गुरूँग, मिडिया सचिब यस. के. गुरूँग, ट्रष्टि एकेन्द्र गुरूँग, संस्थापक अध्यक्ष तथा पूर्बाध्यक्षज्यूहरु, ट्रष्टिज्यूहरु, इकाईका अध्यक्षज्यूहरु र सम्पूर्ण सदस्यहरु, सम्पूर्ण सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारी, आमा समुह, लण्डन इकाईका आमा समुह र तमुधी यूकेका सम्पूर्ण आजीवन सदस्यहरुको सहकार्यमा यो कार्यक्रमको आयोजनाको लागि तयारी अवस्थामा आईसकेको कुरा जानकारी गराउॅंन चाहन्छु ।

लण्डन इकाईका महासचिब बिकास गुरुङ्गको संयोजकत्वमा कार पार्किङको ब्यवस्थापनका उपाध्यक्ष शिबराअ गुरुङको संयोजकत्वमा टोह्टे प्रस्तुत, र ह्याम्प्सायार इकाइका अध्यक्ष उत्तर बहादुर गुरुङ्ग र वोकिंग इकाईका अध्यक्ष शेरकाजी गुरुङ्गले झाँकी ब्यवस्थापनमा बिशेष भूमिका निभाउनु भएको छ ।

अन्तमा आफ्नो मौलिक भाषा धर्म भेष भुषा रीतिरिवाज संस्कृति झल्काउँने झाँकी नृत्य्, र बिभिन्न प्रकारका खानाहरु लत्ताकपडाहरु ब्यापारीक सन्देशहरुको ब्यवस्था गरिएको कार्यक्रममा सम्पूर्ण नेपाली आदरणीय महानुभाबहरु उपस्थित हुनु भई यस कार्यक्रमको गरिमा र शोभा बढाईदिनु हुन बिनम्र अनुरोध गर्दछुं । सबै जनाको भौतिक नैतिक आर्थिक प्रत्यक्ष र अप्रत्यक्ष सहयोगले मात्र यो कार्यक्रम सफल हुने भएको हुँदा तपाईको संचार माध्यमबाट यो सन्देश बेलायतमा मात्र सिमित नभएर बिश्वका सबै देशहरुमा रहेका नेपाली जन मानससम्म पुर्याईदिनु हुन बिनम्र अनुरोध गर्दछु ।