कभर स्टोरी

प्रा. सन्तबहादुर गुरुङको १४औ स्मृति दिवस : ‘समुदायमा पुर्याएको योगदानको अतुलनीय’

  • किशोर कुमार गुरुङ

भदौ १, काठमाडौं । तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्ष एवं संरक्षक स्वर्गीय प्राध्यापक सन्तबहादुर गुरुङको १४औ स्मृति दिवस सम्पन्न भएको छ । शुक्रबार संस्थाको केन्द्रीय कार्यालय मित्रनगरमा आदिवासी जनजातिसम्बन्धि विचार गोष्ठी आयोजना गरी स्वर्गीय गुरुङको स्मृति दिवस सम्पन्न गरेको हो ।

तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदको अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षता एवं आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा स्मृति दिवस सम्पन्न भएको हो । पूर्वअध्यक्ष स्वर्गीय गुरुङको स्मृतिमा “राज्य संरचनाभित्र स्थापित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानदेखि आदिवासी जनजाति मन्त्रालयको माग” विषयमा विचार गोष्ठी आयोजना गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, मानवशास्त्री बालकृष्ण माबुहाङ, मिसिगन विश्वविद्यालय अमेरिकाका प्राध्यापक महेन्द्र लावतीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका संरक्षक परिषद्का अध्यक्ष रेशम गुरुङ, मानवशास्त्री एवं सल्लाहकार डा. टेकबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष जगत बराम, पूर्वउपाध्यक्ष गोविन्द छन्त्याल लगायत विभिन्न तमू संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका स्वागत मन्तव्यका क्रममा संस्थाका उपाध्यक्ष धनमान गुरुङले स्वर्गीय प्राध्यापक गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै आदिवासी जनजातिको हक अधिकार स्थापित गर्न र गुरुङ समुदायको लागि गर्नुभएको योगदानको चर्चा गर्नुभयो । त्यस्तै स्मृति सभामा वक्ताहरुले स्वर्गीय प्रध्यापक गुरुङले समाज र समुदायमा पुर्याएको योगदानको कदर गर्दै स्मरण गर्नुभयो ।

स्मृति सभामा संस्थाका पूर्वअध्यक्ष एवं संरक्षक परिषद्का अध्यक्ष रेशम गुरुङले स्वर्गीय प्राध्यापक गुरुङको योगदान नै आफ्नो सामाजिक क्षेत्रमा प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गराउन प्रतिष्ठान र महासंघसंगै छुट्टै अधिकारसहितको मन्त्रालय हुनुपर्नेमा जोड दिनुभयो ।

आदिवासी जनजातिको सन्दर्भमा आयोग र महासंघको क्षेत्रधिकारका बारेमा विभिन्न दृष्टिकोणबाट बहस हुने गरेतापनि अन्योल हटाउनु पर्नेमा महासंघका पूर्वअध्यक्ष जगत बरामले जोड दिनुभयो । उहाँले अधिकार विहीनको आयोग गठन भएपछि प्रतिष्ठान खारेजी गनुपर्छ भन्ने चर्चा परिचर्चा हुँदै आएकोले व्यापक रुपमा दुबैको कार्यक्षेत्र फरक भएकोबारे राष्ट्रिय मुद्धा बनाएर बहस गरी अन्योल हटाउनु पर्नेमा जोड दिनुभयो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका संस्थापक उपाध्यक्षसमेत रहनुभएका स्वर्गीय प्राध्यापक गुरुङले राज्यको नेतृत्व तहमा जनजातिको अधिकार स्थापित गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायत उपस्थितिहरुले स्वर्गीय गुरुङको फोटोमा माल्यार्पण र दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।