गुरुङ विशेष

गुरुङ प्रसारण दिवस मनाइयो, गुरुङन्युज डटकमको पुनः प्रकाशन शुभारम्भ

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले पहिलो पटक गुरुङ प्रसारण दिवस मनाएको छ । २०५१ भदौ १ गतेबाट रेडियो नेपालमा तमू भाषामा समाचार प्रसारण भएको दिनको अवसरमा गुरुङ प्रसारण दिवस मनाउन थालिएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङले गुरुङ न्युज डटकमको शुभारम्भ गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । मन्त्री गुरुङले ल्यापटपमा www.gurungnews.com टाइप गरी गुरुङन्यूज डटकमको समेत पुनः प्रकाशन शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङ, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाधयक्ष जगत दोङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पहिलोपटक तमू भाषामा समाचार वाचन गर्नुहुने गोविन्द गुरुङलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रम एटजोनका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन चित्र सोल्टी गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा एटजोन काठमाडौं शाखाका अध्यक्ष मनिराज गुरुङले स्वागत गर्नुभएको थियो ।