गुरुङ विशेष

तमूहरुको मुखपत्र ‘गुरुङन्युज डटकम’ पुनः प्रकाशन

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको मुखपत्रको रुपमा आजभन्दा ११ वर्षअघि सुरु भएको गुरुङन्युज डटकमलाई आजदेखि पुनः अनलाइन माध्यममार्फत प्रकाशन थालेका छौं । विगतमा प्राविधिक कारणले स्थगित रहेको अनलाइन संस्करणलाई संस्थाको मुखपत्रको रुपमा पुनः तपाईहरुमाझ पस्कन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ ।

हामीले मुखपत्रको रुपमा अनलाइन संस्करण मात्र नभई वार्षिक रुपमा तमू वर्ष पुस्तक समेत प्रकाशन गर्दै आएको छ । यो प्रक्रियालाई हामीले निरन्तरता दिएका छौं ।

हाम्रो सामुदायिक सकारात्मक समाचारलाई प्राथमिकता दिँदै संस्थागत गतिविधि यो अनलाइनमार्फत प्रस्तुत गर्नेछौं । यसका साथै विश्वमा छरिएर रहेका तमूहरुको साझा सञ्चार माध्यमको रुपमा यसलाई विकसित गर्दै लैजाने उद्देश्य राखेका छौं ।

तमूहरुको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्पराका साथै सम्पूर्ण गतिविधिहरु यो अनलाइनमार्फत हामीले विश्वमा पुर्याउने उद्देश्य राखेका छौं । त्यसैले यो अनलाइन गुरुङहरुको मुखपत्र (मुखअनलाइन) बन्नेमा हामी पूर्णतः विश्वस्त छौं ।

अतः सम्पूर्ण तमू लगायत आम नागरिकले सूचनाको आदान प्रदान गर्दै साथ सहयोगको अपेक्षा गरेका छौं ।