ब्यानर

रेडियोमा तमू मातृभाषामा समाचार प्रसारणको २८ वर्ष

"चु रेडियो नेपाल या । त्हारे गोबिन्द तमूई सम्चार ङिनू"

  • मनिराज गुरुङ

२०५१ भदौ १ गते अपरान्ह ४ः२० मा रेडियो नेपालबाट तमू (गुरुङ) मातृभाषामा पहिलो पटक समाचार प्रसारण हुने निर्णय भयो । समाचार वाचनका लागि तीन जना गोबिन्द गुरुङ, सोमन गुरुङ र गंगा गुरुङ छानिएका थिए । छनोट भएकाहरूलाई रेडियो नेपालले एक साता लामो सैद्धान्तिक र प्राविधिक तालिम पनि दिएको थियो । तालिमको तीन दिन मातृभाषाकै विषयमा केन्द्रीत थियो ।

पहिलो समाचार बुलेटिन वाचन गर्न सबैले आ–आफ्नै तरिकाले तयारी गरिरहेका थिए । समाचार कक्षमा छिर्ने समय नजिकिँदै थियो । दुई बजेतिर रेडियो नेपालका तत्कालीन कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मा आए । तीनै जनालाई पालैपालो समाचार पढ्न लगाए । सबैभन्दा पहिले गंगा गुरुङलाई पढ्न लगाइयो । त्यसपछि सोमनले पढे । अन्तिममा गोबिन्दको पालो आयो । अन्ततः शर्माले निर्णय सुनाए, ‘आज गाबिन्दले पढ्नू ।’
………

धेरै कौतुहलता र उत्साह अनि केही डर बोकेर गोबिन्द रेडियोको समाचार कक्ष (स्टुडियो)मा छिरे । रेडियोमा समाचार प्रशारणअघि बज्ने धुन बज्यो । गोबन्दिको मनमा ढुकढुकी बढिरहेको थियो । समाचार आइडी धुनको अन्तिममा टुँट् टुँट् टुँ भएसँगै गोबिन्दले भने, ‘चु रेडियो नेपाल या । त्हारे गोबिन्द तमूई सम्चार ङिनू ।’

गाबिन्दलाई ठ्याक्कै सम्झना त छैन तर उनले पहिलोपटक पढेको समाचार पोखरातिरको एक गुरुङ सामाजिक गतिविधिको थियो । जुन समाचार राष्ट्रिय समाचार समितिबाट आएको थियो । यससँगै १ भदौ २०५२ मा गोबिन्दले गुरुङ मातृभाषाको पहिलो समाचारवाचक बन्ने अवसर पाए भने सरकारी सञ्चारमाध्यम रेडियो नेपालबाट गुरुङ मातृभाषामा समाचार प्रशारण भएको ऐतिहासिक दिन पनि बन्यो ।

समाचार प्रशारण भएको केही समयपछि नै गुरुङ अगुवाहरूले भने, ‘राष्ट्रिय प्रशारणबाट हाम्रो भाषामा समाचार जानु धेरै ठूलो कुरा हो । सानोतिनो गल्ती स्वभाविक हुन्छ ।’ मनमा शंका र त्रास बोकेका गोबिन्दले अग्रजहरूबाट ढाडस पाए ।
……

गुरुङ भाषाको आफ्नै लेख्य लिपि नहुँदा शब्द उच्चारणसँगै भाषिक अनुवाद पनि ठूलै समस्या थियो । यस्तोमा तीनैजना समाचारवाचक बस्थे र अन्तिम निष्कर्ष निकाल्थे । सकेसम्म भाषिक मौलिकता कायम रहोस् भन्ने उनीहरूको मूलमन्त्र र उद्देश्य रहन्थ्यो । समाचार छनोट गर्दा पनि पहिलो प्राथमिकतामा गुरुङ संस्थागत गतिविधि रहन्थ्यो । त्यसपछि महत्व पाउँथ्यो, राष्ट्रिय मूलधारका समाचार र अन्तर्राष्ट्रिय समाचारहरूले ।

समाचार बुलेटिन पाँच मिनेटको थियो । रेकर्ड काठमाडौंमै हुन्थ्यो र प्रशारण चाहिँ क्षेत्रीय प्रशारण केन्द्र पोखराबाट । रेडियो नेपालबाट समाचार बुलेटिन प्रशारण हुन थालेको दुई वर्षपछि पोखराबाटै काम हुने गरी गुरुङ भाषाको विभाग पोखरा सारियो र गोबिन्दले समाचार पढ्न छाडिदिए ।
…..

२०४६ मा भएको राजनीतिक परिवर्तनसँगै वर्षौंबाट दमित नेपालका आदिवासी जनजाति समुदायहरू अधिकार र स्वतन्त्रताका लागि सचेत र आन्दोलित भए । वास्तवमा त्यो पहिचानको आन्दोलन थियो । फलस्वरूप २०५० को जेठ १४ मा अग्रज साहित्यकार एवं भाषा अभियन्ता तीलविक्रम नेम्बाङ (बैरागी काइँला)को नेतृत्वमा राष्ट्रि«य भाषा नीति सुझाव आयोग गठन भयो । आयोगले सोही वर्षको चैत ३१ मा सरकारलाई सुझाव प्रतिवेदन बुझायो र सोही प्रतिवेदनको जगमा रेडियो नेपालबाट विभिन्न आदिवासी जनजाति समुदायका भाषामा समाचार प्रशारण गर्ने वातावरण बन्यो ।

२०५२ सालको जेठमा सञ्चार मन्त्रालयले रेडियो प्रसार सेवा विकास समितिलाई गुरुङ, मगर, राई, तामाङलगायतका भाषामा समाचार प्रशारण गर्न निर्देशन दियो । निर्देशन पाएलगत्तै समितिले आवेदन खुलायो भने गुरुङ मातृभाषामा समाचार वाचनका लागि आवेदन दिएका गोबिन्द गुरुङ, गंगा गुरुङ र सोमन गुरुङ छनोट भएका थिए ।

मूलधारको त्यसमा पनि सरकारी सञ्चारमाध्यमको राष्ट्रि«य प्रशारणबाट गुरुङ मातृभाषामा समाचार प्रशारण हुन थालेको आज २८ वर्ष पूरा भइसकेको छ । तर यति लामो अवधि बितिसक्दा पनि गुरुङ मातृभाषामा समाचार प्रकाशन, प्रशारण तथा सञ्चार क्षेत्रमा गुरुङ भाषाको प्रयोग अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । जुन पहिचानको संरक्षणमा जुटिरहेका सबैका लागि सोचनीय विषय हो ।