ब्यानर

तमु सञ्चारकर्मी सङ्घको अध्यक्षमा लाला गुरुङ

कास्की, चैत २७  गते । तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनले स्याङ्जाका चित्रबहादुर गुरुङ (लाला) को  अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चैत २४–२६ गतेसम्म कास्कीको ताङतिङ (तोनी नासा) मा  सम्पन्न महाधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा कास्कीकी खिमाकुमारी गुरुङ, महासचिवमा चितवनका चित्रबहादुर गुरुङ, सचिवमा रुपन्देहीका कोमबहादुर गुरुङ र कोषाध्यक्षमा गोरखाकी अनिता गुरुङ चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा काठमाडौँका केशब गुरुङ, कास्कीका किरण गुरुङ  इन्द्रबहादुर गुरुङ, गोरखाका केशव गुरुङ, धादिङका दोलख गुरुङ र चितवनका दानबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

महाधिवेशनले १७ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा तमु सञ्चारकर्मीहरूको वृत्ति विकास, निरन्तर सक्रियता, व्यावसायिक दक्षता विकासमा जोड दिइएको छ ।

यी हुन् घोषणापत्रमा समावेश गरिएका बुँदाहरू:

१. सम्पूर्ण तमु (गुरुङ) सञ्चारकर्मीबिच नियमित सम्पर्कमा रही व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध अभिवृद्धिका लागि उपयुक्त वातावरण सिर्जना गर्ने ।

२. तमु (गुरुङ) सञ्चारकर्मीहरूको दक्षता र क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको व्यवस्थासँगै स्थानीय तथा प्रदेश तहमा कार्यरत सञ्चारकर्मीहरूलाई मूलधारको सञ्चार माध्यममा अवसरको सहजीकरणमा जोड दिने ।

३. संस्थालाई सक्रिय तुल्याउँदै संस्था र तमु (गुरुङ) सञ्चारकर्मीहरूको प्रतिष्ठा अभिवृद्धि गर्न निरन्तर क्रियाशील रहने ।

४. सञ्चार क्षेत्रमा आउने तमु समुदायका नयाँ पुस्तालाई प्रोत्साहित गरिने ।

५. कार्य क्षेत्रमा खटिँदा वा अन्य अवस्थामा आइपर्ने भवितव्य दुर्घटना आदिमा सामूहिक रूपमा सहयोग लिने र दिने व्यवस्थाका लागि संस्थाले प्रभावकारी ढङ्गले काम गर्ने। त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्ने ।

६. तमु (गुरुङ) सञ्चारकर्मीहरूलाई व्यावसायिक रूपमा सबल र सक्षम बनाउनुका साथै उनीहरूको आर्थिक अवस्था सुदृढ तुल्याउन विभिन्न उपायको खोजी तथा अवसर सिर्जना गरिने ।

७. राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूका समाचार कक्ष तथा कार्यक्रम उत्पादनमा समावेशी बनाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने ।

८. राष्ट्रिय सञ्चार माध्यमहरूमा संविधानमा व्यवस्था भएको समावेशी सम्बन्धी ऐन नियमहरूको अक्षरशः कार्यान्वयन गर्दै समावेशी ऐन नियम विपरीतका सबै व्यवस्था तत्काल संशोधन गर्न दबाब दिने ।

९. देशका सबै भाषा भाषीको संरक्षण र संवर्धनका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारलाई दबाब दिने ।

१०. प्रदेश तथा स्थानीय तहमा रहेका पहिलो भाषालाई प्राथमिकता दिई त्यसमा समाचार तथा कार्यक्रम उत्पादन र प्रसारण गर्ने र स्थानीय तहमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय सञ्चारमाध्यममा नियमित रूपमा प्रकाशन तथा प्रसारणको व्यवस्था मिलाउन दबाब दिने ।

११. देशका आदिवासी, जनजातिको पहिचानलाई चीर स्थायी बनाउन संविधान प्रदत्त पहिचानसम्बन्धी अधिकारको कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्ने ।

१२. आदिवासी जनजातिहरू समुदायका लागि जल, जङ्गल र जमिनसँग उनीहरूको परम्परागत धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जनजीविकाको सम्बन्धलाई मध्यनजर गरी त्यस्ता क्षेत्रमा सञ्चालन गरिने कुनै पनि विकास निर्माणका काममा स्थानीय आदिवासी, जनजितका अधिकारलाई उच्च प्राथमिकतामा राख्न र उनीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्ने ।

१३. विश्वभर छरिएर रहेका तमु समुदायका भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि उपयुक्त वातावरण सिर्जना गर्न सञ्चार क्षेत्रबाट बहस र पैरवी गर्ने ।

१४. देशभरका सञ्चार माध्यममा प्रसारण भइरहेका गुरुङ [तमु] भाषाका कार्यक्रम र समाचारहरूको विवरणसहितको अभिलेख तयार पार्ने ।

१५. तमु समुदायको भाषा, संस्कृति, संस्कार, धर्म, परम्परा र ऐतिहासिक पृष्ठभूमिको उजागर गर्ने तथा समुदायको सर्वाङ्गीण हकहित र प्रतिष्ठा अभिवृद्धि हुने किसिमका कार्यक्रम तयार पारी देशभरका सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने ।

१६. कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँको कृषि, पर्यटन, घरेलु उद्योगलगायतका विभिन्न क्षेत्रको विकाससँगै स्थानीय गुरुङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याई तदारुकताका साथ कार्यान्वयनमा ल्याउन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसँग तम् सञ्चारकर्मी सङ्घ, नेपाल जोडदार माग गर्दछ ।

१७. तमु (गुरुङ) सञ्चारकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय बासिन्दा, स्थानीय आमा समूह, स्थानीय युवा क्लब र विभिन्न सहयोगी दाताहरूबाट प्राप्त भएको सहयोगको उच्च प्रशंसा गर्दै सङ्घ हार्दिकतापूर्वक कृतज्ञता जाहेर गर्दछ ।