काठमाडौँ । कलाकार तथा निर्देशक माओत्से गुरुङले चलचित्र ‘पेन्सन पट्टा’लाई दर्शकले रुचाउने आत्मविश्वास व्यक्त गरेका छन् । आफूले मनदेखि दुःख गरेर चलचित्र निर्माण गरेको बताए । मौलिक कथा भएकाले पनि ‘दयारानी’लाई जसरी दर्शकले रुचाउने माओत्सेको विश्वास छ ।
‘भोटेकोशी बाढीले सिङ्गै देश शोकमा भएको बेला किन चलचित्र प्रदर्शन गर्न लाग्नुभएको ?’ भन्ने प्रश्नमा माओत्सेले भने, ‘हो, अहिले देश दुखिरहेको छ । हामी सबैले आ–आफ्नो ठाउँबाट त्यो दुःख व्यक्त गरिरहेका छौँ । सहयोगहरू पनि भइरहेका छन् । उद्धार र राहतका कामहरू भइरहेका छन् । तर दुःख पर्दा आत्तिने बानी नेपालीको छैन । शोकलाई शक्तिमा बदल्दै हामी नयाँ गन्तव्यतर्फ लाग्नुपर्छ । अर्थात् हामी सबैले आफ्नो–आफ्नो कर्म गर्न छोड्यौँ भने भोलि फेरि त्यसले अर्को समस्या निम्त्याउँछ ।’
यही कारण जो जो जुन जुन क्षेत्रमा छन्,सबैले सोही क्षेत्रमा आ–आफ्नो काम गर्नुपर्ने माओत्सेले बताए । यदि यसरी काम नगर्ने हो भने भोलि झनै समस्या आउन सक्ने उनको भनाइ छ । आउँदो २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘पेन्सन पट्टा’को प्रदर्शनलाई लिएर उनले भने,‘दुःखकै बीच सहकार्य, समन्वय र साथ–सपोर्टको भावना उजागर गर्दै चलचित्र प्रदर्शन गर्न लागेका हौँ ।
फिल्म क्षेत्रले पनि आफ्नो कर्म गर्दै अर्थतन्त्र र समाजलाई चलायमान बनाउन योगदान गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’लाहुरेको जीवनमा आधरित ‘पेन्सन पट्टा’मा दयाहाङ राई,गौमाया गुरुङ,पशुपति राई, स्वर्गीय सुनिल थापा,बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ ।





