प्रवास

गुरुङ सोसाइटी केन्ट यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न

  • वाईवी गुरुङ

२६ अप्रिल २०२६ लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २५ अप्रिल २०२६ शनिबारको दिन आशफोर्डको गोडिनटोन भिलेज हलमा समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सो साधारण सभामा आजीवन सदस्यहरुका साथै समाजका जेष्ठ नागरिकहरुको पनि उपस्थिति रहेको थियो ।

समाजका महासचिव पवित्रा गुरुङले सञ्चालन गरेको उक्त साधारण सभालाई अध्यक्ष गोलमान गुरुङ र समाजका जेष्ठ नागरिक ९० वर्षीय रिटायर्ड देवनारायण गुरुङबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने उपस्थित सबैजनालाई प्रथम उपाध्यक्ष श्रीमती ममता गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा २०२५ र २०२६ मा गरेका र आगामी दिनहरुमा समाजले गर्नुपर्ने महत्वपूर्ण कार्ययोजनाहरु अगाडि बढाउँदै लैजाने कुरामा बिशेष जोड दिए ।

त्यसैगरी समाजका कोषाध्यक्ष मान बहादुर गुरुङले आर्थिक प्रतिवेदन विवरण प्रस्तुत गरेका थिए भने समाजकी महासचिव पवित्रा गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तमू धीँ यूकेका पूर्वअध्यक्ष हरी गुरुङको पनि उपस्थिति रहेको थियो भने समाजका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकारद्वय युवराज गुरुङ र शोभराज गुरुङ लगायत सांस्कृतिक संयोजक उमादेवी गुरुङ र सांस्कृतिक सहसंयोजक निर्मला गुरुङ लगायत सदस्यहरुले समाजको उद्देश्य पूरा गराउन र समाजले खेल्दै आएको उल्लेखनीय भूमिकाहरुबारे कार्यसमितिको प्रशंसा गरे ।

साधारणसभामा प्रस्तुत गरिएको विभिन्न महत्वपूर्ण प्रस्तावहरु उपस्थित भएका सदस्यहरुले सक्रियतापूर्वक छलफल गरेका थिए । सभामा सहभागीहरुले राखेका विभिन्न प्रश्नहरुको जवाफ अध्यक्ष गोलमान गुरुङले प्रष्ट रुपमा दिए । कार्यक्रममा खानाको व्यवस्थापन नरेन्द्र गुरुङले गरेका थिए ।

तमू (गुरुङ)हरुको आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभूषा, रीतिरिवाज र परम्परालाई जीवन्त राख्न सक्रिय हुँदै आइरहेको गुरुङ सोसाइटी केन्ट यूकेले यहाँ जन्मेका आफ्ना नानीबाबुहरुलाई सहभागी गराई आफ्नो संसार र संस्कृति झल्कने कौरा गीतको म्यूजिक भिडियो निर्माण गर्न आवश्यक भौतिक, नैतिक र आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रममा आगामी वर्ष नेपालको पूर्वी भागमा बसोवास गर्ने गुरुङहरुको बस्तुस्थिति बुझ्ने उद्देश्यले उक्त क्षेत्रमा अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष गोलमान गुरुङले आफ्नो कार्यकालमा गरिएका र भविष्यमा गर्न लागिएका कार्यक्रमहरुप्रति प्राप्त साथ र सहयोगका लागि र आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा र भेषभूषालाई जीवन्त राख्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा उपस्थित सम्पूर्ण केन्टबासी तमू (गुरुङ) हरुलाई समाजको तर्फबाठ धन्यवाद दिए ।

फोटोः सूर्य गुरुङ