टोकियो, जापान । जापानमा रहेका गुरुङ समुदायको साझा संस्था तमू धीँ जापानले २१औँ अधिवेशन २१ डिसेम्बर २०२५ मा आयोजना गर्ने तयारी गरेको छ। गुरुङ भाषा, संस्कार, संस्कृति तथा पहिचान संरक्षणको विषयमा समेत छलफल हुने संस्थाका महासचिव विनय गुरुङले जानकारी दिए।
सन् १९९५ मा स्थापना भएको तमू धीँ जापानले दशकौँदेखि जापानमा बसोबास गर्दै आएका गुरुङहरूको सामाजिक, सांस्कृतिक र भाषिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। हाल संस्थामा करिब १०० भन्दा बढी आजीवन सदस्य सक्रिय छन्।
हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन गर्ने परम्पराअनुसार २१औँ अधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको आयोजकले जनाएको छ। अधिवेशन सफल तुल्याउनको लागि ओम गुरुङ संयोजक रहने गरी पाँच सदस्यीय निर्वाचन समितिसमेत गठन गरिसकेको छ।
उक्त समितिमा हर्क गुरुङ उपसंयोजक तथा गिरीप्रसाद गुरूङ, भीम गुरूङ र रमेशकुमार गुरूङ सदस्यमा समेटिएका छन्।
अधिवेशनबाट एक जना अध्यक्ष, एक महिला अनिवार्यसहित चार जना उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता एकरएक जना तथा आठजना सदस्यसहित १९ सदस्यीय कार्यसमिति चयन हुने छ।
तमू धीँ जापानको विधानअनुसार सबैसँग सल्लाह गरेर अगाडि बढ्ने संस्थाकी अध्यक्ष हिमाली गुरुङले बताइन्। उनका अनुसार संस्थामा निर्विरोध नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ। आवश्कताअनुसार कार्यसमिति सदस्य थप मनोनित गर्न सकिने उनले बताइन्।





