चितवन । रिल्दी क्ले (घले) तमू समाजको पहिलो राष्ट्रिय भेला तथा प्रथम महाधिवेशनले मदन रिल्दी घले (काठमाडौं) को अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। चितवनको रामपुरमा सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा पर्त रिल्दी क्ले (कास्की) र मन रिल्दी क्ले (मनाङ), महासचिवमा टंक रिल्दी क्ले (चितवन), सचिवमा होम रिल्की क्ले (सुनसरी) र जीवराज रिल्दी क्ले (लमजुङ) तथा कोषाध्यक्षमा टेकमान रिल्दी क्ले (चितवन) चयन भएका छन्।
पूर्वमा सोलुखुम्बुदेखि पश्चिमममा सुर्खेतसम्मका करिब दुई सय प्रतिनिधि सहभागी सम्मेलनको उद्घाटन सत्रको प्रमुख अतिथिका रुपमा एनआरएनएका पूर्वअध्यक्ष तथा व्यवसायी शेष रिल्दी क्ले सहभागी थिए। पूर्वउपरथी दमन रिल्दी क्ले, क्होलासोंथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम रिल्दी क्ले, तमू ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ र एनआरएनए यूकेका पूर्व अध्यक्ष पूर्वगोर्खा मेजर डमर रिल्दी क्ले अतिथि थिए।
सम्मेलनको उद्घाटन गर्दै शेष रिल्दी क्लेले सबै दाजुभाइ र भाइखलक मिले एक अर्कालाई आवश्यक सहयोग गर्न सकिने बताए। उनले इतिहासमा रिल्दी क्लेहरुले नेतृत्वदायी भूमिमा खेलेको उल्लेख गर्दै त्यस विरासतलाई कायम राख्दै अघि बढ्नुपर्ने पनि बताए।
त्यसैगरी अन्य अतिथिहरुले पनि रिल्दी क्लेहरुको इतिहासको खोजी र वर्तमानमा अघि बढ्नका लागि एकता र सहकार्यका लागि सम्मेलन कोशेढुंगा सवित हुने अपेक्षा रहेको उल्लेख गरेका थिए।
कार्यक्रममा तदर्थ समितिमा सचिव होम रिल्दी क्लेले कसरी रिल्दी क्लेहरुले आफ्नो पूर्ख्यौली थातथलोको खोजी गर्दै राष्ट्रिय सम्मेलनसम्म आउन सफल भयो भन्ने बारेमा प्रस्तुति दिएका थिए भने क्ले (घले)को इतिहासका अध्ययनकर्ता खिम रिल्दी क्लेले रिल्दी क्ले समुदायको इतिहास बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा ८० वर्ष कटेका रिल्दी क्ले बाबा–आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। रिल्दी क्लेहरु ख्होला (हाल क्होला) भनेर चिनिन्छ। राज्यको पतनपछि हालको चर्चित पर्यटकीय घलेगाउँ (जसको खास नाम क्वेम्ली हो) मा आएर आफ्नो राज्य चलाएको र त्यहीँबाट देशका विभिन्न क्षेत्रमा फैलिएको बताइन्छ।