ब्यानर

विश्व शान्तिका लागि बुटवलमा कङ्ग्युर हुँदै

रुपन्देही । बुटवलमा कङ्ग्युर (त्रिपिटक) पाठ वाचन अनुष्ठान यज्ञ सञ्चालन हुने भएको छ। गुरूङ डाँडा व्यवस्थापन समिति बुटवलले यही माघ २५ गतेदेखि ३० गतेसम्म यज्ञ सञ्चालन गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। बुटवलको चाँदबारीस्थित गुरुङ डाँडा व्यवस्थापन समितिको कार्यालयमै हुने अनुष्ठानमा रुपन्देहीसहित देशका विभिन्न स्थानबाट ७७ हजार बढी भक्तजनले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ।

बौद्ध विद्वान खेन्पो रिन्पोछे शिर लामा गुरुबाट कङ्ग्युर पाठ वाचन तथा पुण्य सञ्चय विषयमा धर्म देशना हुने आयोजक समितिकी संयोजक जमुना गुरुङले जानकारी दिइन्। उनका अनुसार अनुष्ठानमा हरेक दिन कङ्ग्युर वाचन तथा पितृहरुको नाममा दान, पूजापाठ, दीप प्रज्जवलनलगायतका धार्मिक कार्य हुनेछन्।

सबै जातजातिले सहभागी जनाउन सक्ने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको गुरुङ डाँडा व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए। पूजापाठमा सहभागी भए पितृलाई मोक्ष प्रदान गर्नुका साथै विश्व जगतलाई शान्तिको कामना गर्न सकिने हुँदा जुनसुकै समुदायले पनि कार्यक्रममा सहभागी भई पुयण्य कमाउन सकिने उनले बताए।

अनुष्ठानअन्तर्गत सम्पूर्ण प्राणी जगतको मोक्षका लागि होम कार्यसमेत गरिने समितिका संस्थापक अध्यक्ष तथा संरक्षक सर्वराज गुरुङले जानकारी दिए।

समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार देवप्रसाद गुरुङले बौद्ध दर्शनअनुसार सबैभन्दा ठूलो अनुष्ठानको रुपमा रहेको टिंग्युरपछिको अनुष्ठा नै कङ्ग्युर भएको बताए। कम खर्चमा पनि मोक्ष प्राप्तिका लागि अनुष्ठानमा सहभागी हुन उनले आह्वान गरेका छन्।

समितिले २०७९ सालमा यज्ञहरुमध्येको सबैभन्दा सानो अनुष्ठान मानिने ह्युमपति गरेको थियो भने यस वर्ष कङ्ग्युर अनुष्ठा गरेर आगामी वर्ष सबैभन्दा ठूलो मानिएको टिंग्युर गर्ने योजना रहेको सल्लाहकार झपटबहादुर गुरुङले बताए।

यज्ञमा भोजन दानका लागि ७ हजार, नास्ता दानका लागि ४ हजार, चिया दानका लागि २ हजार, पुस्तक ठेली वाचनका लागि १ हजार ५ रुपैयाँ, १०८ दीप प्रज्जवलनका लागि १ हजार ५ रुपैयाँ, मूल बत्तीका लागि सात सय, छ सय र पाँच सय रुपैयाँ दान शुल्क तोकिएको समितिका सहसचिव दलबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार पूजा अनुष्ठानका लागि रकम संकलनको काम सुरु भइसकेको छ। सोमबार यज्ञका लागि मीनकुमारी गुरुङले स्वर्गीय श्रीमान रामकाजी गुरुङको स्मृतिमा परिवारको तर्फबाट तीन लाख बढी आर्थिक रकम प्रदान गरेकी छन्।

यस्तै समितिका संरक्षक सर्वराज गुरुङले एक लाख रूपैयाँ दान घोषणा गरेका छन्। चारभन्ज्याङ तमू समाजका लागि ३० हजार पाँच सय रुपैयाँ अध्यक्ष झप्पट गुरुङलाई प्रदान गरेका थिए।