ब्यानर

रेडियो नेपाल गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङलाई तमु सञ्चारकर्मीको बधाई

पोखरा । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङलाई तमु सञ्चारकर्मी संघले बधाई ज्ञापन गरेको छ ।

संघको केन्द्रीय र जिल्ला समितिले आईतबार गुरुङको कार्यकक्षमै पुगी बधाई ज्ञापन गरेको हो । संघ, कास्कीको निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार गुरुङको बधाई ज्ञापन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खिमा गुरुङको नेतृत्वमा कास्की अध्यक्ष युग गुरुङलगायत पदाधिकारीको उपस्थिती थियो ।

बधाई ग्रहणपछि कार्यालय प्रमुख गुरुङले आगामी दिनमा तमु सञ्चारकर्मीसँग सहकार्य गर्दै जाने बताउनुभयो । आवाज विहीनहरूको आवाज बुलन्द पार्ने गरी काम गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

प्रमुख गुरुङ २०५४ वैशाख १ गते सह–समाचार वाचकका रुपमा नियुक्त भई विभिन्न पदमा सेवा गरी कार्यालय प्रमुख हुनुभएको हो । गुरुङले रेडियोमा कार्यक्रम संचालन तथा समाचार वाचन गर्दै आउनु भएको छ ।

योसँगै लामो समयपछि रेडियो नेपाल पोखराले गण्डकीबाटै नेतृत्व पाएको छ । रेडियोमा लामो समय काम गर्नुभएकी गुरुङ रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको पहिलो महिला कार्यालय प्रमुख बन्नुभएको छ ।

रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय पोखरामा हाल २८ कर्मचारी छन् । यो कार्यालय मातहत मुस्ताङको जोमसोम, गुल्मीको रेसुङ्गा, पाल्पाको बगनास, पर्वतको दुर्लुङकोट र तनहुँको बन्दीपुरमा रिले केन्द्रहरु छन् ।

समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गुरुङ लोक गायन क्षेत्रमा पनि स्थापित हुनुहुन्छ ।