लन्डन । बेलायतस्थित प्रभावशाली नेपाली संस्था तमुधिं यूकेले नेपालका बाढीपीडितका लागि १ करोड १ हजार रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेको छ ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा मंगलबार साँझ भर्चुअल माध्यमबाट बसेको आकस्मिक कार्यसमिति बैठकले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। निर्णयबारे उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङले जानकारी दिए।
बैठकमा उपाध्यक्ष गुरुङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै एक करोड रुपैयाँ राहत सहयोग गर्न राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो।
तमुधिं यूकेले हालै सम्पन्न १७औँ नेपाली मेलाबाट भएको बचत रकमसमेत बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ। त्यस्तै, आगामी सेप्टेम्बर ११ देखि १३ तारिखसम्म आयोजना हुने च्यारिटी ट्रेल वाकबाट संकलन हुने रकम पनि राहत कोषमा जम्मा गरिनेछ।
संस्थाका पदाधिकारी तथा सदस्यहरूले व्यक्तिगत रूपमा समेत सहयोगको प्रतिबद्धता जनाएका छन्। अध्यक्ष जुमकाजी गुरुङले ५०५ पाउण्ड, उपाध्यक्ष कमल कोने गुरुङले ५०० पाउण्ड तथा स्पोर्टस् सेक्रेटरी क्या. दीपक घलेले ५० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन्। यसैगरी, तमुधिं आमा समूह तथा ह्याम्पसायर र वकिङ इकाइका तर्फबाट एक–एक हजार पाउण्ड सहयोग गर्ने प्रतिबद्धता आएको छ।
तमुधिं यूकेले कार्यसमिति, पूर्वअध्यक्ष, ट्रष्टी, सल्लाहकार तथा आजीवन सदस्यहरूबाट समेत थप राहत रकम संकलन गर्ने जनाएको छ। वरिष्ठ उपाध्यक्ष परशु गुरुङका अनुसार राहत संकलन अभियान सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको बैठकमा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङले नेपाली मेलामार्फत सञ्चालन गरिएको राहत अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण संस्था, रेष्टुरेन्ट, स्टल सञ्चालक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरे।
अध्यक्ष जुमकाजी गुरुङले विपद्को कठिन घडीमा नेपाली समुदाय एकजुट भएर राहत अभियान अघि बढाउन सफल भएकोमा कार्यसमितिलाई धन्यवाद दिँदै मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा मिडिया सचिव एसके गुरुङले यसपटकको नेपाली मेलामा स्काई न्युजलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहभागिता रहेको जानकारी दिए। उनले विपद्का बीच आयोजित मेलामा सांसद इन्दिरा राना मगर, सांसद तथा पर्वतारोही मिङ्मा डेभिड शेर्पा, कलाकार राजु लामा, योगेश्वर अमात्य, प्रेमराजा महत र शर्मिला गुरुङलगायतको सहभागिताले नेपाली समुदायप्रतिको ऐक्यबद्धता थप बलियो बनाएको बताए।


फोटोः मिलन तमू/गोर्खामिडिया डटकम




