काठमाडौँ : पूर्वअञ्चलाधीश स्वर्गीय रत्नबहादुर गुरुङको सम्झनामा प्रकाशित स्मृतिग्रन्थ ‘लोकप्रिय प्रशासक रत्नबहादुर गुरुङ’ को विमोचन भएको छ । पूर्वअञ्चलाधीश स्वर्गीय गुरुङको ९९औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा स्मृतिग्रन्थ ‘लोकप्रिय प्रशासक रत्नबहादुर गुरुङ’ को विमोचन भएको हो ।
गण्डकी विश्वविद्यालयका कुलपति डा.गणेशमान गुरुङ, नेपाल राष्ट्रबैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमन्त्री तोरणबहादुर गुरुङ, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ र पूर्वअञ्चलाधीश स्वर्गीय रत्नबहादुर गुरुङका परिवारका सदस्यहरुले संयुक्त रुपमा स्मृतिग्रन्थको विमोचन गरे । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति डा.गणेशमान गुरुङले पूर्वअञ्चलाधीश स्वर्गीय रत्नबहादुर गुरुङले विकास निर्माण र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।त्यस्तै पूर्वमन्त्री तोरणबहादुर गुरुङले स्वर्गीय गुरुङ देश र जनताको सेवामा इमान्दारीपूर्वक लाग्ने लोकप्रिय व्यक्तित्व भएको बताउनु भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले पूर्वअञ्चलाधीश स्वर्गीय रत्नबहादुर गुरुङले देश र जनताका लागि गरेका कामहरुको स्मरण गर्नुभयो । त्यस्तै सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले स्वर्गीय गुरुङका योगदानको चर्चा गर्दै भावी पीढीले उहाँका सुकर्महरुबाट धेरै शिक्षा लिनसक्ने बताउनु भयो ।
कार्यक्रममा कवयत्री माया गुरुङले कृति समिक्षा गर्दै पूर्वअञ्चलाधीश स्वर्गीय रत्नबहादुर गुरुङको जीवनीबारे प्रकाश पार्नुभएको थियो । त्यसक्रममा स्वर्गीय गुरुङका परिवारले आमा दिलमाया गुरुङ र पिता रत्नबहादुर गुरुङको स्मृतिमा दिल–रत्न गुरुङ अक्षय कोष स्थापनाको घोषणा गरेका थिए । काठमाडौंको बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गर्न चार लाख रुपैयाँको अक्षय कोष स्थापनार्थ मूलधन विद्यालय सञ्चालक समितिका अध्यक्ष दिवस ढुंगेल र प्रधानाध्यापक शैली सिंह राठौरलाई हस्तान्तरण गरिएको थियो । इन्जिनियर नारायण गुरुङद्वारा सम्पादित स्मृतिग्रन्थ ‘लोकप्रिय प्रशासक रत्नबहादुर गुरुङ’ को विक्रिबाट आएको रकम असाह्य बृद्ध बृद्धाहरुको सहयोगका लागि प्रदान गरिने स्वर्गीय गुरुङका परिवारले जानकारी दिएको छ ।
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर गुरुङ गाउँ दरौंमा विक्रम सम्वत १९८२ बैशाख २५ गते जन्मनु भएका रत्नबहादुर गुरुङले औपचारिक शिक्षा बिना नै ९ वर्षको बाल्यअवस्थामा गाउँको तालुकदारीको काममा सहयोगीको भूमिका निर्वाह गरी सरकारी भातपानी प्राप्त गर्न सफल हुनुभएको थियो । स्वर्गीय गुरुङ २००७ सालमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनु भएको थियो । त्यसबेला मुक्तिसेनाले स्याङ्जा जिल्ला कब्जा गरेपछि गठन भएको स्थानीय सरकारको गृहसहायक मन्त्रीमा चयन हुनु भएको थियो । राणा शासनको अन्त्य भएर केन्द्रीय सरकार गठन भइ स्थानीय सरकार विघठन भएलगत्तै उहाँ स्याङ्जा जिल्लाको तत्कालिन सदरमुकाम नुवाकोटस्थित जिल्ला अदालतमा बिचारी नियुक्त हुनुभयो । जिल्ला अदालत स्याङ्जामा माइला बिचारीको हैसियतमा उहाँले न्याय सेवामा उत्कृष्ट योगदान दिनुभयो । विक्रम सम्वत २०१५ सालमा बिचारी पदबाट राजीनामा दिएर आम चुनावमा स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी मैदानमा होमिनुभएका गुरुङ पराजित हुनुभयो । विक्रम सम्वत २०१७ सालमा तत्कालिन राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि २०१७ फागुन ३ गते राजा महेन्द्रले स्वर्गीय गुरुङलाई प्युँठान गौंडाको बडाहाकिम नियुक्त गरेको स्मृतिग्रन्थमा उल्लेख छ । यसपछि उहाँ २०२१ सालमा धनकुटा गौंडाको बडाहाकिम नियुक्त हुनुभयो । २०२२ सालमा बडाहाकिमको पद खारेज भएलगत्तै लुम्बिनी अञ्चलको सहायक अञ्चलाधीश बन्नुभयो भने नारायणी अञ्चलको सहायक अञ्चलाधीश भएर पनि काम गर्नुभयो । त्यसपछि अञ्चलाधीश पदमा पदोन्नती भइ सेती अञ्चलको अञ्चलाधीश नियुक्त हुनु भयो । सेती अञ्चलको कार्यभार पुरा गरी २०४३ सालमा ३२ वर्षे सेवा पुरा गरी अवकाश लिनुभएको थियो ।