गुरुङ विशेष

ओखलढुङ्गाका समीरलाई ६० हजार राशिको पुरस्कार

काठमाडौं । ओखलढुङ्गा ज्यामिरेका समीर गुरूङ स्नातक तहमा सर्वोत्कृष्ट ठहरिएका छन्। तमू विद्यार्थीबाट स्नातक गर्नेहरुमा सबैभन्दा उच्च अङ्क ल्याउन सफल भएपछि तमू बौद्ध सेवा समितिले समीरलाई ‘सत्य–उदय पुरस्कार’ प्रदान गरेको छ। समितिले हरेक वर्ष प्रदान गर्दै पुरस्कार प्राप्त गर्दै समीरले नगद ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्रसमेत प्राप्त गर्नुभएको छ।

समितिको रजतजयन्तीको अवसरमा २०७१ सालमा समितिका संस्थापक सदस्य क्या उदयबहादुर गुरुङ र आमा समूहका संस्थापक अध्यक्ष सत्यदेवी गुरुङले दश लाख एक हजार १११ रूपैयाँको सत्य–उदय पुरस्कार अक्षयकोष स्थापना गर्नुभएको थियो। हरेक वर्ष फरक विश्वविद्यालय र भिन्न संकायका विद्यार्थीलाई यो पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्ष त्रिभुवन विश्वविद्यालय मानविकी सङ्कायका विद्यार्थीलाई दिने निर्णय भएअनुसार त्रिविको परीक्षा शाखाबाट प्राप्त नतिजाअनुसार समीरलाई पुरस्कार प्रदान गरिएको तमू बौद्ध सेवा समितिका सचिव मनिराज गुरुङले जानकारी दिनुभयो।

पुस ६ गते संस्थाको ३४औँ वार्षिक साधारणसभा एवम् १५औँ अधिवेशनको अवसरमा ११ जनालाई जनही २५ हजार रुपैयाँका दरले छात्रवृत्तिसमेत प्रदान गरेको छ। समितिबाट यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीहरूमा आशिष गुरुङ (बिबिस), नमन गुरुङ (बिई), निकिता गुरुङ (बिएफएस), बिष्णुमाया गुरुङ (बिएनएस), ईश्वर गुरुङ (बिईआटी), अनमोल गुरुङ (बिबिए), सन्दीप गुरुङ (एलएलबी), सौगात गुरुङ (एमबिबिएस), कृषा गुरुङ (एसिसिए) तथा जीवराज गुरुङ र अनिल गुरुङ (बुद्धिजम) रहेका छन्।

त्यसैगरी दुई जना दीर्घरोगीलाई समेत सहयोग गरिएको समितिका सचिव गुरूङले जानकारी दिनुभयो। मुटुरोगको समस्या झेलिरहनुभएकी अमृता गुरुङ र मृगौलाको समस्या झेलिरहनुभएका टेककुमार गुरुङलाई नगद सहयोग गरिएको उहाँले बताउनुभयो।

समितिको वार्षिक साधारणसभामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, मेजर जनरल नवराज गुरुङ, एआइजी बुद्धिराज गुरुङ, ब्रिगेडियर जनरलहरू सुरज गुरुङ, अशोक गुरुङ, अमृतकाजी गुरुङ र गौरव गुरुङ, ब्रिटिस क्याम्प, काठमाडौँका क्याप्टेन सन्तोष गुरुङ, सगरमाथा आरोही सहोदर दाजुभाइ आशिष र सुजन गुरुङ र माउण्ट के–२ आरोही नानुमाया गुरुङसमेत सम्मानित हुनुभएको छ।

त्यस्तै महिला यु– १९ क्रिकेट टोलीका सदस्य कृष्मा गुरुङलाई पनि नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।

तमू बौद्धमा नारायणबहादुर गुरुङ
तमू बौद्ध सेवा समिति नेपालको अध्यक्षमा क्या नारायणबहादुर गुरुङ चयन हुनुभएको छ। सर्वसम्मतरुपमा नेतृत्व चयन भएको समितिको उपाध्यक्षमा पूर्वएसपी राजेन्द्र गुरुङ र सन्तु घले, महासचिवमा पुष्पबहादुर गुरुङ, सचिवमा मनिराज गुरुङ, सह–सचिवमा लक्ष्मी गुरुङ र कोषाध्यक्षमा क्या धनबहादुर गुरुङ चयन भएका छन्।

नयाँ समितिमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन्। तमू बौद्ध सेवा समिति नेपालमा अहिलेसम्म अध्यक्षसहितको टिम दोस्रो कार्यकाल दोहोरिने प्रचलन रहँदै आएको छ। समितिले वार्षिक साधारणसभा एवम् अधिवेशनको अवसरमा साँझपख ल्होछार शुभकामना आदान–प्रदानसमेत गरेको थियो।

कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका नृत्य कलाकारहरूको सोरठी, कौराहलगायत विभिन्न मौलिक सांस्कृतिक नृत्य प्रस्तुतिले ल्होछार शुभकामना आदान–प्रदान कार्यक्रममा रौनकता थपेको थियो भने हरिमाया गुरुङ, कुसुमकुमारी गुरुङ, पवित्रा गुरुङ, तृतीया गुरुङ, पुनम गुरुङलगायतको गायन प्रस्तुतिमा सहभागी सबैले रमाइलो गरेका थिए। सांस्कृतिक कार्यक्रमको संयोजन कार्यसमिति सदस्य एवम् सांस्कृतिक उपसमितिका संयोजक राजु गुरुङले गर्नुभएको थियो।