गुरुङ विशेष

जापानमा ल्होछार मनाउने तयारी हुँदै

जापान । जापानस्थित तमू धीं किताकान्तो शाखाले तमू ल्होछार पर्व धुमधामका साथ मनाउने तयारी गरेको छ। विविध सांस्कृतिक कार्यक्रमसहित यही डिसेम्बर ३० तारिखका दिन तमू ल्होछार पर्व मनाउने तयारी गरिएको आयोजकले जनाएको छ।

जापानको गुन्मा केन ओइजिमी माची ब्राजिलियन प्लाजामा ल्होछार मनाउने तयारी भइरहेको तमू धीं किताकान्तो जापानका अध्यक्ष विराज तमूले जानकारी दिए। गुरुङ जातिको पहिचान झल्किने गरी सांस्कृतिक प्रस्तुति सञ्चालन गरी तमू ल्होछार मनाउन लागिएको उनले बताए।

जापानी समयअनुसार दिउँसो १ बजेदेखि हुने कार्यक्रममा नेपालबाट कलाकार उषा गुरुङको साथमा बाल कलाकारहरु खुसी गुरुङ र प्यारी गुरुङसँगै स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक अन्जु तमूले जानकारी दिइन्।

‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु’ अर्थात् ‘शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ’ भन्ने तमू (गुरुङ) समुदायको विश्वव्यापी मान्यतालाई आत्मासाथ गर्दै ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ ल्होछार मनाउने तयारी गरिएको उनको भनाइ छ।

संस्थाका महासचिव भरत तमूका अनुसार तमू धीँ किताकान्तो जापानले हरेक वर्ष मनाउँदै आएको ल्होछारलाई हरेक वर्ष निरन्तरता दिँदै जानेछ। कार्यक्रममा जापानमा बसोबास गर्दै आएका गुरुङ समुदायका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत तय भएको ल्होछार कार्यक्रमकी संयोजक शर्मिला गुरुङले जानकारी दिइन्।