प्रवास

अभिभावकले देखाएको सामाजिक बाटोमा लिलबहादुर

  • दीपेन्द्र गुरुङ

विभिन्न अवसर र पृष्ठभूमिमा गुरुङ समुदाय विश्वभर फैलिएका छन्। विशेषगरी रोजगारीको सिलसिलामा गुरुङहरू धेरै देशमा पुगेका छन्। वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा गुरुङहरू पुगेकामध्येको देश हो, मकाउ।

नेपालका विभिन्न ठाउँबाट रोजगारीका लागि पुगेका गुरुङ दाजुभाइहरूले आफ्नो समुदायका सबैलाई समेट्ने उद्देश्यले सन् २०१६ (दर्ता सन् २०१७ मा भएको) मा गुरुङ (तमू) समाज मकाउको स्थापना गरेका छन्। संस्थामा अहिले २८५ सदस्य छन्।

यही संस्थाको अध्यक्षमा पुनः चुनिनुभएको छ, लिलबहादुर गुरुङ (गोरा)। २०८० कात्तिक २ गते भएको संस्थाको सातौं वार्षिक बैठक तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा पुनः सर्वसम्मत चुनिनुभएको हो।

उहाँसहित सन्तोष गुरुङ वरिष्ठ उपाध्यक्ष, अमृत गुरुङ उपाध्यक्ष, भीम गुरुङ सचिव, कृष्ण गुरुङ सहसचिव, मनकुमारी गुरुङ कोषाध्यक्ष, अशोक गुरुङ सह–कोषाध्यक्ष, नैनकला गुरुङ महिला संयोजक र पूर्ण गुरुङ सल्लाहकारमा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने अरु सदस्यहरू सहित ३७ सदस्यीय कार्यसमिति बनेको पनि जानाकारी पनि गराउनुभयो।

मकाउमा बसोबास गर्ने सबै गुरुङहरूको यो साझा संस्थालाई अगाडि बढाउने जिम्मेवारी फेरि पनि लिलबहादुरले लिनुभएको छ। स्याङ्जा फेदीखोला सिरस्वाराका लिलबहादुर वैदेशिक रोजगारीका लागि पछिल्लो एक दशकभन्दा लामो समयदेखि मकाउमा हुनुहुन्छ।

आफ्नो समुदायप्रति समर्पित उहाँ रोजगारीका लागि नेपालको विभिन्न ठाउँबाट मकाउ पुगेका गुरुङहरूलाई एकताबद्ध गर्ने प्रयास गर्दै हुनुहुन्छ। अनि आफ्नो समुदाय र समग्र नेपाली समुदायलाई सहयोग गर्ने प्रयास पनि गर्दै आउनुभएको छ। लिलबहादुरले विदेशमै कर्म गरेर पनि नेपालले विभिन्न कालखण्डमा भोग्नुपरेको संकटको समयमा सहयोग गर्नुभएको छ।

२०७२ मा गएको विनासकारी भूकम्पको समयमा नेपालको लागि सहयोग जुटाएर पठाउनुभएको थियो। नेपालका अरु धेरै संघ–संस्थाहरूमा सहयोग गर्दै आउनुभएको छ। ‘सामाजिक सेवा जीवनको एउटा महत्त्वपूर्ण पक्ष हो। दुःखमा सबैले सबैलाई सकेको सहयोग गर्नुपर्दछ’, उहाँ भन्नुहुन्छ।

थोरै बोल्ने तर बोलेको काम पूरा गर्ने स्वभावका लिलबहादुर आफ्नो जिम्मेवारीप्रति सधै कटिवद्ध हुनुहुन्छ। आफ्नो कार्यालयको काम सकिएपछिको समय उहाँले आफ्नो संस्थाकै लागि खर्चनुभएको छ। जिम्मेवारी बहन गर्ने स्वभावका कारण साथीभाइले फेरि संस्थाको अध्यक्ष पदको जिम्मेवारी दिएको उहाँ बताउनुहुन्छ।

‘जीवनमा अहिलेसम्म अनुभवले नै अघि बढ्न सिकाएको छ। दैनिक १२ घण्टा आफ्नो जागिरमा खटिएर पनि आफ्नो समुदायको संस्थामा सक्रिय हुने गरेको छु’, उहाँ भन्नुहुन्छ, ‘अझैसम्म यो प्रेरणा पाइरहेको छु। साथीभाइले संस्थाप्रतिको लगाव देख्नुभएको छ। त्यही विश्वासस्वरूप उहाँहरूले मलाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो।’

स्याङ्जा फेदीखोलास्थित सिद्धार्थ माविका पूर्वविद्यार्थी लिलबहादुरले पढाइलाई धेरै अघि बढाउन सक्नुभएन। पढाइ बिचैमा छुटेपनि उहाँले प्राथमिक शिक्षा लिएको विद्यालयलाई ठूलो गुन लगाउनुभएको छ।
विद्यालयमा साढे ३२ लाख खर्चेर इन्फर्मेसन, कम्युनिकेसन टेक्नोलोजी (आइसिटी) पढाइ हुने आधुनिक भवन निर्माण भएको छ।

यो भवन निर्माण गर्न लिलबहादुरसहित विद्यालयका १६ जना पूर्वविद्यार्थीहरूले अग्रसरता लिएका थिए। त्यसमा मकाउबाट सहयोग जुटाउने अभियानको नेतृत्व लिलबहादुरले नै गर्नुभएको थियो। आमा सीतादेवी र बाबा स्वर्गीय हर्कबहादुरको दोस्रो सन्तानको रूपमा जन्मनुभएका लिलबहादुर समाजसेवाको प्रेरणा आफ्नो अभिभावकलाई पनि दिनुहुन्छ।

उहाँभन्दा अघि एक दाइ र पछि दुई जना बहिनी हुनुुहुन्छ। श्रीमती एक छोरी र एक छोराको अभिभावक बन्नुभएका लिलबहादुर दोस्रो पेशाको रूपमा वैदेशिक रोजगारीका लागि मकाउ पुग्नुभएको हो। यसअघि उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थो। झण्डै एक दशक जति नेपाली सेनामा सेवा गरेर विदेशिनुभएको हो।

जीवनको लामो समय देश र समाजको सेवामा खर्चनुभएका उहाँ बाँकी समय आफ्नो समुदायकै लागि खर्चने योजना सुनाउनुहुन्छ।

नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।