काठमाडौं । गैरआवासीय नेपालीहरूको साँझा संस्थाको रूपमा चिनिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विभिन्न देशमा रहेको प्रवास समितिको नेतृत्वमा तमू समुदायको व्यक्तित्वहरूले नेतृत्व लिने क्रम चलिरहेको छ। जसअनुसार गत हील्होमा एनआरएनए कोरियाको अध्यक्षमा बुद्धि गुरुङ चयन हुनुभएको छ।
पुरानो ठेगाना कास्कीको गहतेमा बुवा चुलबहादुर गुरुङ र आमा सन्तमाया गुरुङको कोखबाट ६ सन्तानमध्ये सबैभन्दा जेठो सन्तानको रूपमा उहाँको जन्म भएको हो। बाबा गाउँकै विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो। यस कारण पनि उहाँले बाल्यकालमा राम्रो शिक्षादीक्षा पाउनुभयो। गाउँमा पढाइसँगै घाँस-दाउरा, त्यो बेला सामन्य नै रहेको उहाँ सम्झनुहुन्छ।
गाउँकै हिमालय प्रस्तावित प्राथमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि केही महिना गाउँकै विद्यालयमा उहाँले पनि पढाउनुभयो। केही समयपछि शिक्षण पेसा छाडेर पोखरा झरी हालको सामसुङ गल्लीमा समोसा पसल खोलेर बस्नुभयो। कहिलेकाहीँ तनहुँसम्म पनि साइकलमा आफ्नो उत्पादन बिक्रीका लागि पुर्याउनुभयो। त्यति बेला गाडी सहज नभएकोले पनि साइकल चलाउने गरेको उहाँले बताउनुभयो।
त्यसभन्दा अगाडि गाउँमा मेलापात हुँदा सानैबाट हाटबजारमा पसल राख्ने र समोसा जेरी बनाएर बेच्ने गरेको अझै पनि उहाँको मानसपटलमा ताजै छ। ‘त्यति बेला खुब बिक्थ्यो र फाइदा नि राम्रै हुन्थ्यो’, उहाँ भन्नुहुन्छ, ‘कहिलेकाही गिलुङ, पसगाँउ वरिपरि पसल लिएर हिड्थें। किनकि मलाई सानैदेखि ब्यापारमा चाख थियो।’
रोजगारीको सिलसिलामा सन् १९९१ को अन्तिमतिर उहाँ कोरिया पुग्नुभयो। सुरुवातका केही वर्ष काम गरेर अनुभव बटुल्ने काम गर्नुभयो। त्यसपछि सन् १९९८ मा पहिलो पटक नेपाली सामान पाइने गरी सानो सुपरमार्ट खोले। ‘त्यति बेला कोरियामा पसल खोल्नु भनेको निक्कै जोखिम हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘बिस्तारै पसल चल्दै गयो। झन् बढी नेपालीहरूसँग भेट हुँदै गयो र आफ्नो सानैदेखिको व्यापारलाई बढाउँदै गएँ।’
पसल राम्रो हुँदै गएपछि सन् २००७ मा स्याम्बु नेपाली इन्डियन रेस्टुरेन्ट खोलेर उहाँले रेस्टुरेन्ट व्यवसायतिर पनि हात हाल्नुभयो। उहाँले रेष्टुरेण्ट सञ्चालनमा निकै उतारचढाव भोग्नुपर्यो। तर पनि केही वर्षमै ८ वटा शाखा खोलेर सञ्चालन गर्न सफल हुनुभयो।
सन् २०१० मा नन्दकुमारी गुरुङसँग विवाह गरी २ छोरासहित सुवानमा बस्न थाल्नुभयो। विवाहपश्चात श्रीमतीको सहयोगले व्यावसाय सञ्चालनमा झन् सफलता मिल्यो। ‘मेरो व्यवसायमा सफलता मिल्न श्रीमतीको ठूलो हात छ’, उहाँले भन्नुभयो, ‘मेरो हरेक कुरामा राम्रो समर्थन छ।’
रेष्टुरन्ट राम्रै चलेको भए पनि विभिन्न कारणले गर्दा हाल चार वटा रेस्टुरेन्टमात्र सन्चालन गर्नुभएको छ। हाल दक्षिण कोरियामा अन्दाजी ६० हजार नेपाली छन्। त्यसमध्ये गुरुङहरू १० हजारको हाराहारीमा रहेको अनुमान छ भने एनआरएनए दक्षिण कोरियाको सदस्यमा करिब पाँच हजार चारसय जति छन्।
तमू धीं दक्षिण कोरियाको वरिस्ठ उपाध्यक्षसमेत भएर कार्य गरिसक्नुभएका उहाँ कोरियामा रहेका व्यवसायीहरूको ‘कोरिया नेपाली व्यवसायी’कोसमेत अध्यक्ष हुनुहुन्छ। कोरियामा हाल ८० भन्दा बढी नेपाली संघ सस्था छन्। सबैभन्दा ठूलो चाहिँ एनआरएनए नै रहेकोले नेपाली राजदूतावाससँग सहकार्य गरेर काम गरिरहेको उहाँले बताउनुभयो।
कोरियामा पहिलाभन्दा अहिले धेरै सजिलो हुन थालेको उहाँको बुझाइ छ। ‘पहिले हाम्रो पालामा साह्रै गाह्रो थियो। भाषा नजान्ने, काम नजान्ने, ठाउँ नचिन्ने आदि समस्या थियो। अहिलेका भाइ-बहिनीहरूलाई भाषामा पनि सहज छ। काम, रहनसहन पनि पहिले नै अध्ययन गरेर आएपछि धेरै सजिलो छ नि’, उहाँ भन्नुहुन्छ।
उहाँले व्यापारमात्र नभई सन् १९७७ देखि २००० सम्म निःशुल्क दोभाषेको कामसमेत गरेर नेपाली र कोरियाली सरकारलाई सहयोग गर्नुभएको छ। अझै पनि आवश्यक परेको बेला उक्त काममा सहजीकरण गर्दै आउनुभएको छ। ‘जब नेपालीहरू यहाँ आइ अप्ठ्यारो पर्छ दुःख बिरामी, घाइते भई उपचार नपाएमा, मृत्यु भएमा वा कुनै कानुनी बाधाअड्चन आयो भने हरेक पल मैले सहयोग गर्दै आइ रहेको छु,’ उहाँ भन्नुहुन्छ।
नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।