ब्यानर

सकियो छ्याँडु नृत्य प्रशिक्षण

पोखरा । तमू धीं नेपाल केन्द्रीय युवा समितिले गण्डकी प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको एक महिने छ्याँडु नृत्यको प्रशिक्षण सकिएको छ। भदौ ३ गतेदेखि सुरु भएको छ्याँडु नृत्यको प्रशिक्षण गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको उपस्थितिमा समापन भएको हो।

मन्त्री थापाले सबै जातजातिको कला, साहित्य र संस्कृति जगेर्नाका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताए। गुरुङ समुदायका युवाहरु संस्कृति संरक्षणमा लागेकोमा खुसी व्यक्त गर्दै मन्त्री थापाले युवाहरु विदेश पलायन हुने क्रम बढ्दै गएको हुँदा संस्कृति संरक्षण पनि चुनौतीको विषय बन्दै गएको बताए।

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति गोरे गुरुङ, मिलन ग्रुप अफ नेपालका संस्थापक संयोजक मिलन फाउन्डेसन नेपालको परिकल्पनाकार तथा संस्थापक संरक्षक वरिष्ठ समाजसेवी दुर्गा गुरुङ ‘मिलन’, छ्याँडु नृत्यका गुरु प्रेमबहादुर गुरुङ, प्रशिक्षार्थी नविन गुरुङ, तालिम संयोजक रामप्रसाद गुरुङलगायतले कार्यक्रमको महत्त्व र आवश्यकताबारे बोलेका थिए।

३६ वटा ताल भएको छ्याँडु नृत्य तमू समुदायको पितृकार्य (पय) अर्थात् अर्घौंको दोस्रो दिन हृ (अस्तु) ल्याएपछि नाच्ने गरिन्छ। ३६ वटा तालमध्ये प्रशिक्षणमा सिकेका १८ ताल बजाएर प्रशिक्षार्थीहरुले छ्याँडु नृत्य प्रदर्शन गरेका थिए।

प्रशिक्षकहरुलाई फेटा, प्रमाणपत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो। सोही अवसरमा गुरुङ फिल्म एसोसियशन नेपाल (जिफान)का नवनिर्वाचित टिम, हङकङबाट नेपाल आएका मिलन ग्रुप अफ नेपालका संस्थापक संयोजक मिलन फाउन्डेसन नेपालका परिकल्पनाकार तथा संस्थापक संरक्षक वरिष्ठ समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लगायतलाई पनि सम्मान गरेको थियो। साथै तमू धीं नेपाल केन्द्रीय युवा समितिको कार्यालयको समेत सोही अवसरमा उद्घाटन गरेको थियो।