ब्यानर

तमू धिं नेपालमा एक महिने छ्याँडु नृत्य प्रशिक्षण सुरु

पोखरा। तमु धिं नेपाल केन्द्रीय युवा समितिको आयोजनामा पोखरामा सोमबारदेखि एक महिने तमु जातिको लोपोन्मुख छ्याँडु नृत्य प्रशिक्षण शुरु भएको छ ।

युवा पुस्तालाई मौलिक संस्कृति हस्तान्तरण भन्ने नाराका साथ युवा समितिले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षण शुरु गरेको हो । तमु धिं नेपालको प्रांगणमा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले प्रशिक्षणको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा उपकुलपति गुरुङले गण्डकीको कला, सँस्कृति संरक्षण र विकासका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सक्दो पहल र समुदायहरुसँग सक्दो सहकार्य गर्ने बताउनुभयो । तमु समुदायको लोपोन्मुख छ्याँडु नृत्यको संरक्षणका लागि प्रशिक्षण उत्पादन गर्ने उद्देश्यका साथ एक महिने प्रशिक्षक प्रशिक्षण र्काक्रममा प्रतिष्ठानले सहकार्य गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा तमु धिं नेपालका सल्लाहकार देवीराज गुरुङले प्रशिक्षण कार्यक्रम उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो । तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले एक महिने प्रशिक्षणले तमुहरुको लोपोन्मुख छ्याँडु नृत्य संरक्षणमा विशेष योगदान पु¥याउने बताउनुभयो । तमु धिं नेपालका संस्कृति खोज अनुसन्धान बिभाग प्रमुख कृष्णकुमार गुरुङले गण्डकीमा तमुहरुको १ सय ४८ भन्दा बढि गाउँ रहेकाले ती ठाउँका संस्कार, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

तमु धिं नेपाल केन्द्रीय युवा समितिका अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक रामप्रसाद गुरुङले प्रशिक्षण कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउनुहुदै स्वागत र सहसचिव हेमन्त गुरुङले संचालन गर्नुभएको थियो ।