कभर स्टोरी

चितवनका गुरुङ समुदायले मनाए बुद्ध जयन्ती : टाउकामाथि ठेली बोकेर बजार परिक्रमा

भरतपुर । चितवनका गुरूङहरुले २५६८औँ बुद्ध जयन्ती मनाएका छन् । बिहीबार बौद्ध धर्म सेवा समिति चितवनको आयोजनामा महाबौद्ध गुम्बामा धुमधाम कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाएका हुन् । धर्मगुरू (खेन्पो) किलाया फुर्बा शेर्पाको प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा धर्मगुरू शेर्पाले बुद्धधर्ममा आस्था राख्ने या नराख्ने सबैले पञ्चशीलको पूर्ण पालना गरे जीवन सुखी बन्ने बनाए ।

‘हामीले मात्रै होइन भगवान् गौतम बुद्धको उपदेशलाई विश्वजगत्ले नै स्वीकारेको विषय हो’, उनले भने, ‘किनकि सकारात्मक विषयलाई अँगाल्दा कसैलाई पनि नोक्सान हुँदैन ।’ कार्यक्रममा महाबौद्ध गुम्बा र गुम्बाभित्रका संघसंस्थाका प्रतिनिधिहरुले समेत बुद्ध जयन्ती र भगवान् गौतम बुद्धको उपदेशबारे व्याख्या गरेका थिए ।

बाह्रमासे घाटु मुख्य आकर्षण

हरेक वर्षजस्तै यसवर्ष पनि आयोजकले सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएको थियो । विभिन्न गीत–संगीतमार्फत मनोरञ्जन दिलाउने क्रममा बाह्रमासे घाटुसमेत देखाइएको थियो । लमजुङ जिल्ला दूधपोखरी गाउँपालिकाको वडा नं–४, नमार्खु स्थायी घर भई हाल चितवनमा बस्दै आएका नमार्खु भाइखलकले कार्यक्रममा घाटु नृत्य प्रस्तुत गरेका हुन् ।

आफ्नो किलोथलो छाडेर आए पनि संस्कृति जगेर्ना गर्ने लक्ष्यसहित बाह्रमासे घाटु देखाइएको घाटु नाचका संयोजक मनिराज घलेले बताए । घाटु गुरू गोठे घलेको नेतृत्वमा नाच देखाइएको हो । यो नाच समूहमा नाचिने नाच हो । पछिल्लो समय यसको संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ ।

साथमा गुरूङ चलचित्रकी नायिका एवं मोडल प्रमिला गुरूङ तथा नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवनका विद्यार्थीहरुको नेतृत्वमा विभिन्न कलाकारहरुले प्रस्तुति दिएका थिए ।

रक्तदानमा २७ जना सहभागी

सोही कार्यक्रममा खुला रक्तदानसमेत सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा १३ पुरूष र १४ महिला गरी २७ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक लोकबहादुर गुरूङले जानकारी दिए ।

ठेली बोकेर बजार परिक्रमा

गुम्बामा कार्यक्रम हुनुपूर्व बिहान शान्ति पदयात्रा निकालिएको थियो । यात्राका क्रममा भरतपुर र नारायणगढ बजार क्षेत्रका विभिन्न स्थान परिक्रमा गरिएको थियो । बजार घुम्ने क्रममा पदयात्रामा सहभागी सबैले टाउकामाथि बुद्ध शिक्षाको ठेली (पुस्तक) बोकेका थिए ।

बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङका अनुसार यसवर्ष भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्षलाई लक्षित गरी शान्ति पदयात्रा निकालिएको हो । आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

यसैगरी, विश्व शान्ति बौद्ध समाज भरतपुर–१२, कालिका टोलले पनि बुद्ध जयन्तीको अवसरमा शान्ति पदयात्रा निकालेको थियो । वडा नं–१२ का विभिन्न टोल परिक्रमा गरेर शान्तिको सन्देश छर्ने प्रयास गरिएको समाजका सचिव भीमबहादुर गुरूङले जानकारी दिए ।

उनका अनुसार लामा गुरू राम लामाद्वारा पूजापाठ, होम हाल्ने, बत्ती बाल्नेलगायतका कार्यक्रम भएका थिए । भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्तको विशेष उपस्थितिमा भएको कार्यक्रम समाजका अध्यक्ष लालमन घलेको अध्यक्षतामा सम्पन्न भएको हो ।