प्रवास

सुष्मा गुरुङलाई सिल्भर अवार्ड

लन्डन । बेलायतवासी समाजसेवी एवं मेन्टल हेल्थ कम्युनिटी नर्स सुष्मा गुरुङ पुरस्कृत भएकी छन् ।

बिहीबार मे १६ तारिख २०२४ बेलुकी ग्रील्डफोर्ड सर्रेको हार्बर होटलमा आयोजित सर्रे एन्ड बोडर्स पार्टनरसिप स्टाफ अवार्ड समारोहमा सुष्माले दोस्रो पोजिसनको अवार्ड प्राप्त गरेकी हुन । उनलाई करिब ४ सय दर्शकको माझ सर्रे एन्ड बोडर्स पार्टनरसिप एनएचएस फाउन्डेसन ट्रस्ट २०२३ बाट सिल्भर क्याटगोरीमा ‘इम्प्लोइ अफ द इयर २०२३’ प्रदान गरिएको हो । समारोहमा अल्डरसट हेल्थ केयरका १० जना स्टाफसहित फ्रिम्ली पार्क हस्पिटलका स्टाफहरुले पनि सुष्मालाई साथ दिएका थिए ।

एनएचएसका कर्मचारीहरुले कसले कति काम गरे भन्ने २०२३ मा गरिएको अनुसन्धनबाट सुष्मा अब्बल कर्मचारी ठहरिएपछि पुरस्कृत गरिएको हो ।

सुष्मा अल्डरसट हेल्थ सेन्टरमा कार्यरत छिन् ।‌ सुष्माले एनएचएस कर्मचारीहरुमध्येबाट राम्रो काम गरेको ठहर भएको छ ।
सुष्माले खासगरी गोर्खा र नेपाली समुदायबीच ‘कुराकानी’ कार्यक्रम चलाउँदै आएकी छन् भने बिरामीहरुको राम्रो हेरविचार, बिरामीहरुलाई उपचारमा खेलेको भूमिकाको कदरस्वरुप पुरस्कार दिइएको हो ।

मनोचिकित्सक (साइक्याट्रिक) नर्स सुष्मा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । ग्रेटर रस्मूर नेपाली कम्युनिटीको उपाध्यक्ष, तमु धीं युके महिला समूहको कार्यकारी सदस्य, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन युके क्षेत्रीय अध्यक्षसमेत छिन् ।

अध्यात्ममा उनको विशेष रुची छ । शिक्षामा अब्बल हुँदै आएकी सुस्मा सन् १९९८ सालमा बेलायत आएकी हुन् । उनले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बीकम, २००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गरेकी छिन् ।