फोटो कथा

तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत, गुरुङन्यूज डटकम लोकार्पण

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ, नेपालले छ जना पत्रकारलाई तमू पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

सङ्घले आज यहाँ आयोजित कार्यक्रममा प्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट हिरालाल गुरुङ (चितवन) र एमबी (मानबहादुर) आस्था मगर (कास्की) लाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही २० हजार १ रुपियाँ रहेको छ ।

त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रत्ना गुरुङ (स्याङ्जा), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिष्ट अनुप गुरुङ (काठमाडौँ), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट करिश्मा गुरुङ (तनहुँ) पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद रहेको छ ।

सोहीअनुसार तमू ल्होछार मूल आयोजक पत्रकारिता पुरस्कारबाट विकास गुरुङ (तेह्रथुम) पुरस्कृत भएका छने । पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ रहेको पुरस्कार छनौट समितिका संयोजक अनिता गुरुङले जानकारी दिए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आज एक समारोहबीच उनीहरुलाई पुरस्कृत गरे ।

सो अवसरमा उनले पत्रकारले खोजमूलक समाचार लेखेर नागरिकलाई सुसूचित गर्नुपर्ने बताए । सूचनाको हकको प्रयोग गरी रिपोर्टिङ गरेमा सही सूचनाहरू बाहिर आउने हुनाले त्यसको प्रयोग गर्न उनले पत्रकारलाई आग्रह गरे ।

सङ्घका अध्यक्ष लाला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा अनिता गुरुङ, पुरस्कृत हुनेहरु एमवी आस्था मगर, करिश्मा गुरुङ, अनुप गुरुङले मन्तव्य राखेका थिए ।

सो अवसरमा तमू वर्ष पुस्तक गुरुङन्युज डटकमको छापा संस्करण लोकार्पण गरिएको थियो ।