ब्यानर

इलाम जिल्लाभरका गुरुङ समुदायले सदरमुकाममा ल्होसार मनाउने

इलाम । इलामका गुरुङ समुदायले आफ्नो सांस्कृतिक पर्व तमु ल्होसार यसपटक इलाम बजारमा मनाउने भएका छन् ।

उनीहरूले आउँदो पुस १५ गते पर्ने पर्वका अवसरमा पुस १३, १४ र १५ गते विशेष कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।

आज (बिहीबार) सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी ल्होसा पर्व मूल आयोजक समितिले त्यस अवसरमा आयोजना गरिने विविध कार्यक्रमबारे जानकारी दिएको छ ।

आयोजक समितिका प्रचार संयोजक मानबहादुर गुरुङका अनुसार पुस १५ मा हि–ल्हो (बिरालो वर्ष)को बिदाइ र मुप्ही ल्हो (गिद्ध वर्ष)को स्वागतमा ल्होसार मनाइँदैछ ।

ल्होसार पर्व प्रायः घर–घरमै मनाउने गरिएपनि यो वर्ष जिल्लाभरको गुरुङ समुदाय एकत्रित भएर इलाम सदरमुकाममा मनाउने तयारी भएको उनले जनाए ।

पर्व अवसरमा कार्यक्रम आयोजना र व्यवस्थापनका लागि पविमाया गुरुङको अध्यक्ष्तामा आयोजक समितिसमे गठन गरिएको छ । समितिको उपाध्यक्षमा हरि गुरुङ, सचिवमा हरिबहादुर गुरुङ, सहसचिवमा उमेश गुरुङ र कोषाध्यक्षमा जुली गुरुङ चुनिएका छन् ।

खेलकुद संयोजकमा सन्तोष गुरुङ, स्वयंसेवक संयोजक विनोद गुरुङ, व्यवस्थापन संयोजक नरेश गुरुङ, सांस्कृतिक संयोजक उमेश गुरुङ र प्रचार संयोजक मानबहादुर गुरुङ छानिएको त्यस अवसरमा जानकारी दिइयो ।

मंसिर १८ मा बसेको गुरुङ समुदायको भेलाले यो वर्षको पर्व इलाम बजारमा मनाउने निर्णय गरेको थियो । आ–आफ्नो संस्कार, संस्कृतिको रक्षा गर्दै विविध संस्कृतिबीच सद्भाव, भाइचारा, विश्वबन्धुत्व र सहअस्तित्वका लागि आफूहरूले प्रयास गरेको आयोजक समितिले जनाएको छ ।