प्रवास

ताङतिङ मितेरी संघ युकेबाट च्यारिटी डिनर नाइट आयोजना

लन्डन । ताङतिङ मितेरी संघ युकेले ताङतिङ समाज युकेको सहकार्यमा शनिबार १६औं वार्षिकोत्सव च्यारिटी डिनर नाइट (परोपकारी रात्रीभोज कार्यक्रम) सम्पन्न भएको छ ।

बेलायतको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र कीर्तिमानी आरोही हरि बुढामगरको प्रमुख उपस्थितिमा क्याम्ब्रिजस्थित कारभर ब्यारेकको अफिसर मेसमा सो कार्यक्रम भएको हो ।

राजदुत आचार्यले कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै यसप्रकारको मितेरी सम्बन्ध र कार्यक्रमबाट नेपालको लागि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । मितेरी संघ स्थापना गरेर एकअर्काको कला, संस्कृति, चालचलन आदानप्रदानमा ठुलो सहयोग पुग्ने र दुबै पक्षको लागि फाइदा हुने उनको भनाइ थियो ।

कीर्तिमानी आरोही बुढामगरले शारीरिकरुपमा कमजोर देखिए पनि कसरी कीर्तिमान राख्न सफल भएको भनी उत्प्रेरणादायी कुरा सुनाए । सन् २०१० मा अफ्गानिस्तानमा सेवाका क्रममा घुँडाभन्दा तलको दुबै खुटा गुमाउन पुगेका उनले कसरी निराशाबाट उठेर सगरमाथाको सफल अरोहण गर्न सकेँ भन्ने प्रेरणादायी जीवन कहानी सुनाएका थिए ।

कास्कीको मादी गाउँपालिका वडा २, ताङतिङ गाउँ तथा त्यस वरपरका गाउँहरुको सहयोगका लागि सम्पन्न उक्त च्यारिटी डिनर नाइटको प्रबन्ध ताङतिङ मितेरी संघ युकेको अध्यक्ष पूर्व डिस्ट्रिक्ट काउन्सिलर टिना नाइट, ताङतिङ समाज युकेको अध्यक्ष तर्कजङ गुरुङ तथा ताङतिङ समाज युकेको निवर्तमान अध्यक्ष काउन्सिलर लक्ष्य गुरुङले गरेका थिए ।

कार्यक्रममा कारभर ब्यारेकका क्या. डान फ्याब्रेस र ले. कर्णेल हेविटले ताङतिङ मितेरी संघ युकेको प्रशंसा गर्दै संघको च्यारिटी डीनर कार्यक्रम कारभर ब्यारेकमा आयोजना गर्न पाउँदा खुशी व्यक्त गरे ।

ताङतिङ मितेरी संघ युके अध्यक्ष टिना नाइटबाट उपस्थित सबैलाई धन्यवाद दिइयो । ताङतिङ समाज युकेका अध्यक्ष तर्कजङ गुरुङले संस्थाले ताङतिङको शिक्षा, स्वास्थ्य र समग्र विकासमा गरेको योगदानप्रति आभार प्रकट गर्दै सबैमा धन्यवाद ज्ञापन गरे ।

राफल ड्र (चिठा) र अक्सन गरिएको सो कार्यक्रममा क्याम्ब्रिज वरपरको थुप्रै मितेरी मित्रहरु र अन्य नेपालीहरु उपस्थित थिए ।

ताङतिङ मितेरी संघ युके बेलायत र नेपालका गाउँहरुबीच भगिनी सम्बन्ध गाँस्ने (मित लगाउने) पहिलो संस्था हो । यसैको सिको गरेर पछिल्लो समय बेलायतका र नेपालका विभिन्न गाउँ तथा शहरबीच भगिनी सम्बन्ध गाँस्ने प्रचलन बढेको छ ।