कभर स्टोरी

शिखर यात्रामा सँगगँगै आशिष र सुजन

  • लाला गुरूङ/दीपेन्द्र गुरूङ

नेपालको पर्वतारोहण क्षेत्रमा अन्तर्राष्ट्रिय ‘माउण्टेन गाइड’ आशिष गुरूङको छुट्टै पहिचान छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने कार्यको ‘फोटोग्राफी’ गर्ने मह¤वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका आशिष नेपालको पर्यटन उद्योगले पाएको एक साहसिक एवम् विशेष व्यक्तित्व हुनुहुन्छ।

सगरमाथासहित आठ हजार मिटरभन्दा अग्लो हिमाल (सगरमाथा चार पटक, ल्होत्से दुई पटक र मनास्लु एक पटक) सात पटकसम्म सफल आरोहण गरेर आफ्नो पाइला नापिसक्नुभएका आशिषको नाममा यसवर्ष अर्काे एउटा उपलब्धी पनि थपिएको छ। आफ्नै कान्छो भाइ सुजनसँगै १३ मे, २०२४ मा सगरमाथाको शिखरमा पुग्नुभएसँगै भोटखोला–४, सङ्खुवासभाका लाम्छाने (लेम) गुरूङ आशिष र सुजन तमू समुदायबाट विश्वको सर्वाेच्च शिखरमा सँगै पाइला टेक्ने पहिलो दाजुभाइ जोडी बन्नुभएको छ।

ज्यानै जान सक्ने कयौं चुनौती पार गर्दै विश्वकै उच्च भूमिमा पाइला टेक्नु आफैँमा एक विशेष उपलब्धी हो, त्यसमाथि दाजुभाइ नै सँगै सर्वोच्च उचाइमा पुग्नु साच्चिकै अद्भूत उपलब्धी हो। आशिष र सुजनको नाममा जोडिएको यो उपलब्धी उहाँहरुमा मात्रै सीमित छैन, समग्र गुरूङ समुदायले पनि गर्व गर्ने खालको छ।

१३ मेको बिहान सगरमाथा क्षेत्रको वातावरण खुलेको थिएन। बरु हिमालमा नियमितजस्तै रहने तीव्र वेगको हावा अझै तीव्र गतिमा चलिरहेको थियो। सगरमाथाको चुचुरोमा पाइला टेक्ने बहुप्रतिक्षित इच्छासहित सयौंको सङ्ख्यामा आरोहीहरु हावाको वेग कम होस् भन्ने कामनासहित केही तल कुरिरहेका थिए। त्यही पर्खाइमा हुनुहुन्थ्यो, छुट्टाछुट्टै टोलीको नेतृत्व गर्दै सगरमाथाको आरोहणका लागि जानुभएका आशिष र सुजन पनि।

यद्यपि, आशिष लामो समय कुरेर बस्ने पक्षमा हुनुहुन्न थियो। उहाँ आँट गरेर आफ्नो टोलीसहित उचाइ नाप्नतिर लाग्नुभयो। अनुभवी आशिष फलस्वरूप बिहानी घामको किरणले शिखर चुम्नुपूर्व नै आफ्नो टोली लिएर सगरमाथाको चुचुरोमा पुग्नुभयो। त्यस दिन सगरमाथाको उचाइबाट विश्व हेर्ने आशिषको टोली नै पहिलो थियो।

त्यसको झन्डै आघा घण्टापछि भाइ सुजन पनि आफ्नो लिएर आइपुग्नु भयो। आफ्नो टोलीका सदस्यहरुको समेत ख्याल गर्नुपर्ने भएकोले त्यसबेला आशिष र सुजनले यस उपलब्धीमा खासै खुसी साटासाट गर्न भ्याउनु भएन। तर, यस क्षणले उहाँहरु दुवैको मनमा भने विशेष स्थान ओगटेको छ।

आशिष भन्नुहुन्छ, ‘यसपटक साँच्चिकै फरक खालको अनुभव भयो। शेर्पाहरुको मात्रै नाम आउने नेपालको पर्वतीय क्षेत्रमा हामीले पनि उत्तिकै चुनौतीको सामना गरेर, उत्तिकै साहस बटुलेर यो उपलब्धी हात पारेका छौँ। यो हाम्रा लागि साँच्चिकै विशेष छ।’

दाइ आशिषको भनाइमा सुजन थप्नु हुन्छ, ‘दाइको मार्गनिर्देशन पछ्याउँदै नेपालको पर्वतीय पर्यटनमा लागेको हुँ। मेरो अभिभावक दाइसँगै सगरमाथाको चुचुरोमा पुग्नु अझ विशेष क्षण रह्यो। यो क्षण र उपलब्धी साँच्चिकै अविस्मरणीय मान्न सकिन्छ।’ उहाँहरुका लागि यो उपलब्धी यस कारणले पनि विशेष छ कि सुजनका लागि पर्वतारोहण क्षेत्रको यात्रा र उपलब्धीमा दाइ आशिषको अभिभावकत्वले विशेष भूमिका खेलेको छ।

आशिषले पर्वतारोहण क्षेत्रमा निक्कै प्रगति गरिसक्दासमेत सुजनको यस क्षेत्रतर्फ आकर्षण थिएन। बरु, उहाँ लामा शिक्षा पढ्नका लागि सङ्खुवासभाबाट पोखरातर्फ लाग्नुभयो। पोखरामा आफूलाई सुहाउने वातावरण नभएपछि उहाँ काठमाडौँ फर्किनुभयो। केही वर्ष वेलायती सेनाको तयारीमा लाग्नुभयो।

एक दिन दाजुभाइ सल्लाह गर्ने क्रममा आशिषले भाइ सुजनलाई सुझाव दिँदै भन्नुभयो, ‘पैसा र इज्जत कमाउने हो भने पर्वतारोहण राम्रो अवसर हो।’ दाइको सुझावमा भाइ सुजन पनि सहमत हुनुभयो। अनि सुरु भयो सुजनको पनि पर्वतारोहण यात्रा। अनुभव र प्रशिक्षणबाट खारिँदै अघि बढ्नुभएका आशिषले भाइलाई प्रशिक्षणसँगै ‘एकेडेमिक’ रूपमा पनि अघि बढाउनुपर्छ भनेर क्याम्पस भर्ना गरिदिनुभयो।

नेपाल माउण्टेन एकेडेमीमा स्नातक तहमा अध्ययनरत सुजनले धेरै टोलीलाई नेतृत्व गर्दै नेपालका ठूला हिमालहरुको आरोहण गराइसक्नुभएको छ। सगरमाथाको यो उपलब्धीअघि उहाँहरुले ६ हजार ८१२ मिटर अग्लो आमा दब्लम हिमाल पाँच पटकसँगै आरोहरण गरिसक्नुभएको थियो । ६ हजार मिटर अग्ला अन्य कयौं हिमालहरु पनि सँगै आरोहण गरिसक्नुभएको छ। सुजन आशिषकै सल्लाह, सुझावअनुसार पढाइ र आरोहणसँगै अन्तर्राष्ट्रिय माउण्टेन गाइडको लाइसेन्सका लागिसमेत ‘इनरोल’ हनुभएको छ। सम्भवत उहाँले पनि अर्काे वर्षसम्म अन्तर्राष्ट्रिय माउण्टेन गाइडको लाइसेन्स प्राप्त गर्नुहुने छ।

उहाँहरु भविष्यमा अझ व्यवस्थित र नयाँ ढङ्गबाट यस क्षेत्रमा अवसरको खोजी गर्ने योजनामा हुनुहुन्छ। आशिष भन्नुहुन्छ, ‘योजनाअनुसार भयो भने आरोहण क्षेत्रमै थप अवसरको खोजी गर्ने हो। दाजुभाइको ज्ञान र सीपलाई मिलाएर थप प्रगति र उपलब्धीका लागि प्रयास गर्ने हो।’ सुजन पनि दाइको भनाइमा सहमत हुनुहुन्छ। थप्नुहुन्छ, ‘पहिले आफू तयार हुनुपर्छ, त्यसपछि थप अवसरको खोजी गर्न सहज हुने छ।’

नोट : यो लेख गुरुङ वर्ष पुस्तक (मुप्रि ल्हो) २०८१ मा प्रकाशित भएको थियो।